हेटौँडामा प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला हुँदै 

हेटौंडा । हेटौँडामा यही चैत १३ गतेदेखि १६ गतेसम्म बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको संयोजनमा पहिलोपटक आयोजना हुन लागेको यस मेलाबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार मेलाको उद्देश्य बागमती प्रदेशका किसानहरूको मनोबल अभिवृद्धि गर्नुका साथै युवाशक्तिलाई कृषितर्फ आकर्षित गर्नु रहेको छ। हेटौँडास्थित पल्पसा सदनमा सञ्चालन हुने मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ।

मेलामा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं र चितवनका कृषक तथा कृषि उद्यमीहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा ४० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछन्। ती स्टलहरूमा कोदो, जुनेलो, फापरको पिठो, गेडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, गोबरबाट बनेका दीयो, म्याट, मस्यौरा, क्यान्डी, आलु, गुन्द्रुक, जुनार जुस, दाना, अण्डा, तेल, च्याउ, माछा, डेरी उत्पादन लगायतका वस्तु प्रदर्शन तथा बिक्री गरिनेछ। साथै कृषि प्रविधिसम्बन्धी उपकरणहरूको समेत प्रदर्शनी राखिने आयोजकले जनाएको छ।

कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिकामार्फत कार्यान्वयन हुने गरी कुल ५ लाख ७५ हजार रुपैयाँ बजेट तय गरिएको छ। यसमध्ये ५ लाख रुपैयाँ बागमती प्रदेश सरकारबाट विनियोजन गरिएको छ भने बाँकी रकम संघको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.