बागमती प्रदेशमा प्रशासनिक संरचना घटाउने तयारी, कांग्रेसको सभामुखमा दाबी

 इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको प्रशासनिक संरचना घटाउनेदेखि प्रदेशसभा सञ्चालनसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ।
मंगलबार काठमाडौंमा सम्पन्न बैठकले एक साताभित्र प्रदेशसभा बैठक आह्वान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो। साथै, प्रदेश सभामुख पदमा कांग्रेसले दाबी गर्ने स्पष्ट संकेतसमेत दिएको छ।
बैठकमा प्रदेश सरकारद्वारा प्रस्तावित प्रशासनिक पुनःसंरचना मस्यौदामाथि पनि छलफल गरिएको थियो। सो प्रस्तावअनुसार हाल कायम १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने योजना अघि सारिएको छ। त्यस्तै, ७ वटा निर्देशनालयलाई २ मा झार्ने र ५ वटा पूर्ण रूपमा खारेज गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी, ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयमा सरकारमा सहभागी दुई दलबीच छलफल गरी आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरिएको छ।
बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
साथै, पार्टीभित्र देखिएका आन्तरिक विवादहरूलाई संवाद र सहमतिमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.