नयाँ वर्षको अवसरमा हेटौंडामा एमआरआर समुहको भजन कार्यक्रम आयोजना हुँदै

हेटौंडा । नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर हेटौंडामा भजन कार्यक्रम आयोजना गरिने भएको छ। एमआरआर समूह हेटौंडाद्वारा आयोजित उक्त कार्यक्रम वैशाख १ गते (मंगलबार) बिहान ७ बजेदेखि सञ्चालन गरिने आयोजकले जनाएको छ।

नयाँ वर्षको सुरुवात धार्मिक तथा आध्यात्मिक वातावरणमा गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ। आयोजकका अनुसार भजनमार्फत मनलाई शान्त, सकारात्मक र ऊर्जावान बनाउँदै नयाँ वर्षलाई अर्थपूर्ण बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रममार्फत धार्मिक सचेतना अभिवृद्धि गर्नुका साथै नेपाली धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने पवित्र उद्देश्य राखिएको समूहले जनाएको छ। सोही अवसरमा सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सुरु भएको एमआरआर समूहले विगत करिब दुई महिनादेखि प्रत्येक शुक्रबार साँझ ५:३० बजे पशुपति मन्दिर परिसरमा नियमित रूपमा भजन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

करिब ५० युवाको सक्रिय सहभागितामा सञ्चालनमा आएको उक्त समूहलाई विभिन्न संघसंस्था तथा समाजसेवीहरूले सुरुदेखि नै प्रोत्साहन र सहयोग गर्दै आएका छन्।

यस पहलको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक सोच र ऊर्जा प्रवाह गर्नु रहेको जनाइएको छ। मकवानपुर लगायतका क्षेत्रमा लागुऔषधको जोखिम बढिरहेका बेला यस्तो सामाजिक तथा धार्मिक गतिविधिले युवा वर्गमा चेतना र उत्साह अभिवृद्धि गरेको विश्वास गरिएको छ।

एमआरआर समूहले भजनमार्फत एकता, सामाजिक उत्तरदायित्व र सकारात्मक सन्देश प्रवाह गर्दै देशभरका युवालाई प्रेरित गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.