मकवानपुरमा दलित महिला र किशोरी अधिकार परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न

हेटौंडा । मकवानपुरमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। फाउन्डेसन फर जस्ट सोसाइटीको सहयोगमा दलित महिला संघ (फेडो) द्वारा आयोजित उक्त कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सन् २०२३ देखि सञ्चालनमा आएको तीनवर्षीय परियोजनामा २१ वटा दलित समूहका ५५१ सदस्य, २५ जना महिला अगुवा अभियन्ता तथा दुई महिला साझा सञ्जालका ३१ जना प्रत्यक्ष सहभागी रहेका छन्। साथै, दलित महिला समूह र किशोरी सञ्जालमार्फत ४५ जना बालबालिकाको समेत सहभागिता रहेको छ। परियोजनाका अप्रत्यक्ष लाभग्राहीहरूमा धर्मगुरु, पत्रकार, गैरदलित समुदाय, सरकारी निकाय तथा विद्यालयहरू रहेका छन्।

परियोजनाले सहकार्य, निरन्तरता र दिगोपनालाई प्राथमिकता दिँदै स्थानीय तहमा संवाद, अन्तरक्रिया, प्रदेशस्तरीय कार्यक्रम तथा विभिन्न अन्तर्राष्ट्रिय दिवसहरूमा गतिविधि सञ्चालन गरेको जनाएको छ। यसअन्तर्गत धर्मगुरुसँग छलफल, विद्यालयस्तरीय कार्यक्रम, क्षमता अभिवृद्धि तालिम तथा कानुनी सहायता प्रदान गरिएको छ।

हिंसापीडितका लागि परामर्श सेवा, उद्यमशीलता तालिम तथा व्यवसाय प्रवर्द्धनका लागि आर्थिक सहयोगसमेत गरिएको छ। १० समूहलाई ६ लाख रुपैयाँ र २० समूहलाई ५ लाख रुपैयाँ म्याचिङ फन्ड उपलब्ध गराइएको छ भने ३० महिला समूहलाई २१ लाख २० हजार रुपैयाँ बीउपूँजी प्रदान गरिएको छ। साथै, २५ लाख ८९ हजार रुपैयाँ बचत संकलन भएको छ।

आयआर्जन कार्यक्रममार्फत ७२ जना महिलाले रोजगारी प्राप्त गरेका छन् भने १५२ जना महिलाले व्यवसाय सञ्चालन गरिरहेका छन्। परियोजनाले दलित महिलाको सामाजिक सहभागिता वृद्धि गराएको र स्थानीय तह पनि उनीहरूको मुद्दाप्रति संवेदनशील बन्दै गएको सहभागीहरूले बताएका छन्।

परियोजनामा सहभागी अनिता विकले क्षमता अभिवृद्धि, प्रतिवेदन लेखन तथा सार्वजनिक बोल्ने सीपमा सुधार आएको अनुभव सुनाउनुभयो। परियोजना मकवानपुरको बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा रहेको छ भने राक्सिराङ र मनहरी गाउँपालिकामा पनि विस्तार गरिएको छ।

कुल ८४ लाख ३ हजार रुपैयाँ बजेट रहेको परियोजनामा हालसम्म ७३ लाख ३५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ। फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूले आफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.