हेटौंडा । २० वर्षसम्म लागुऔषध दुर्व्यसनमा फसेका नकुल बलामी अहिले पुनर्स्थापनापछि आत्मनिर्भर जीवन बिताउँदै कफी व्यवसायमार्फत नयाँ उदाहरण प्रस्तुत गरिरहेका छन्।
कहिल्यै नसोचेको बाटोमा पुगेको जीवन, लामो अन्धकार र त्यसपछि आएको उज्यालो-यी सबै अनुभव बोकेका छन् नकुल बलामीले। एक समय सुईमार्फत लागुऔषध सेवनमा गहिरो रूपमा फसेका उनी अहिले सिआन पुनर्स्थापना केन्द्रमा मानव संसाधन विकास अधिकारीका रूपमा कार्यरत छन्। साथै, केन्द्रमै सञ्चालनमा रहेको कफी हाउसमा आफ्नो सिप र आत्मनिर्भरता दुवै प्रस्तुत गरिरहेका छन्।
नकुलको जीवनमा ठूलो मोड तब आयो, जब उनी कक्षा ८ मा अध्ययनरत रहँदा उनका बुवा धुर्व बलामीको निधन भयो। “बुवाको मृत्युले मलाई भित्रैदेखि कमजोर बनायो, र त्यही समयबाट म दुर्व्यसनतिर तानिँदै गएँ,” उनी सम्झन्छन्। आमा कमला बलामीले परिवार सम्हाल्ने प्रयास गरे पनि नकुलको जीवन क्रमशः नियन्त्रणबाहिर जान थाल्यो।
रोजगारीको खोजीमा सन् २०१० मा मलेसिया पुगेका नकुल त्यहाँ ‘आइस’ नामक लागुऔषधको लतमा फसे। त्यसले उनको जीवन झन् जटिल बनायो, र उनी एक वर्षसम्म मलेसियाको कारागारमा बस्न बाध्य भए। “विदेशी भूमिमा जेल जीवन बिताउनु मेरो जीवनकै सबैभन्दा पीडादायी क्षण थियो,” उनी भन्छन्, “कहिले छुट्ने हो भन्ने थाहा थिएन, आमाको सम्झनाले धेरै सताउँथ्यो।”
नेपाल फर्किएपछि पनि उनको अवस्था सुधारिन सकेन। काठमाडौंमा उनी फेरि सुईमार्फत लागुऔषध सेवनमा फसे। “२० वर्षसम्म कहिले कुन, कहिले कुन नशामा फसेँ। सुईको नशामा फस्छु भन्ने त मैले कहिल्यै सोचेको पनि थिइनँ,” उनी स्वीकार गर्छन्।
जीवनप्रति आशा हराउँदै गएको समयमा उनको भेट सिआन पुनर्स्थापना केन्द्रका प्रमुख शौजन डिसीसँग भयो। त्यही भेटले उनको जीवनको दिशा परिवर्तन गर्यो। आर्थिक अवस्था कमजोर भए पनि उनलाई २०८१ साल भदौ २४ गतेदेखि निःशुल्क परामर्श तथा उपचारको अवसर दिइयो। “त्यो मेरो जीवनको नयाँ सुरुवात थियो,” नकुल भन्छन्।
पुनर्स्थापनाको क्रममा उनले विभिन्न सिपहरू सिक्ने अवसर पाए, जसमा कफी बनाउने तालिम विशेष प्रभावकारी बन्यो। अहिले उनी केन्द्रभित्र सञ्चालनमा रहेको कफी हाउस आफैं चलाइरहेका छन्। “सानो भए पनि आफ्नो पेशागत जिम्मेवारी निभाउन पाउँदा निकै खुशी र सन्तुष्टि मिलेको छ,” उनी भन्छन्।
पुनर्स्थापनापछि नकुल आफ्नो परिवारसँग पुनः जोडिएका छन्। आमासँगको सम्बन्ध सुधारिएको छ, र छोरीप्रति जिम्मेवारी पूरा गर्न पाएकोमा उनी गर्व महसुस गर्छन्। “आज म अरूलाई पनि जीवन परिवर्तन सम्भव छ भन्ने सन्देश दिन सक्छु,” उनी भन्छन्।
उनको अनुभवले देखाउँछ-सही अवसर, सहयोग र आत्मबल भएमा गहिरो अन्धकारबाट पनि उज्यालो सम्भव छ। नकुलजस्ता व्यक्तिहरूको पुनर्स्थापना र समाजमा पुनःस्थापनाका लागि राज्यले अझ सशक्त नीति र सम्मानजनक वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।“म जस्तो अरूलाई पनि अवसर र विश्वास दिइयो भने हामी समाजका लागि उदाहरण बन्न सक्छौं,” उनको सन्देश स्पष्ट छ।









