न्यायको नाममा एकपक्षीय दृष्टिकोण खतरनाक हुन्छ: सामाजिक अभियन्ता विशाल राज महत

हेटौंडा। सामाजिक अभियन्ता विशाल राज महतले लैङ्गिक समानता र न्यायको विषयमा समाजमा मौलाउँदै गएको एकपक्षीय सोचप्रति प्रश्न उठाएका छन्। आफ्नो फेसबुक पोस्टमार्फत महतले पितृसत्तात्मक संरचनाले महिलामाथि अन्याय गरेको यथार्थलाई स्वीकार्दै, यसले पुरुषहरूका पीडा र भावनालाई भने दीर्घकालसम्म अदृश्य बनाउँदै आएको उल्लेख गरेका छन्।

“महिला अधिकारको आन्दोलन आवश्यक थियो र छ,” महत लेख्छन्, “तर के हामी पुरुषका पीडालाई बेवास्ता गर्दैछौं?”

उनको भनाइ अनुसार समाजले पुरुषहरूलाई सधैं बलियो, अटल र आर्थिक संरक्षकको भूमिकामा हेर्ने दृष्टिकोणले गर्दा उनीहरू आफ्ना पीडा, असफलता र मानसिक संघर्षबारे बोल्न सक्दैनन्। “मर्दलाई दुःख हुँदैन” भन्ने सोचले पुरुषको मानसिक स्वास्थ्यलाई बेवास्ता गरिरहेको उनी बताउँछन्।

पोस्टमा महतले दाइजो प्रथा, सम्पत्तिको अधिकार, विवाह विच्छेदपछिका कानुनी जिम्मेवारी जस्ता विषयमा पुरुषहरूको भोगाइका उदाहरण प्रस्तुत गरेका छन्। उनका अनुसार विवाह विच्छेदपछि पुरुषलाई निर्वाह खर्च तिर्नुपर्ने, आफ्नै कमाइको सम्पत्तिबाट हिस्सा दिनुपर्ने र बच्चाको हिरासत पाउन गाह्रो हुनेजस्ता कानुनी प्रावधानहरूले पुरुषहरूलाई कहिलेकाहीँ अन्यायमा पारेका छन्।

उनले थप लेखेका छन्, “जब पुरुषले मानसिक वा शारीरिक हिंसाको कुरा गर्छ, समाजले त्यसलाई मजाकको रूपमा लिन्छ। उसको पीडालाई कमजोरीको रूपमा चित्रण गरिन्छ।”

महिलाहरूले भोग्दै आएको संरचनात्मक असमानता र हिंसाको विरुद्धको लडाइँलाई महत्व दिंदै महतले जोड दिएका छन् कि वास्तविक समानता भनेको दुवै लिंगको पीडा र भावना सुन्ने समाज निर्माण गर्नु हो।

“न्यायको आधार लिंग होइन, मानवता हो,” उनी लेख्छन्, “पुरुषलाई ‘शक्तिशाली’ को कठोर छविबाट मुक्त गर्नु र महिलालाई जीवनका सबै क्षेत्रमा समान अवसर दिनु– दुवै पक्षको सशक्तीकरण आवश्यक छ।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.