रुयल सुनार
हालै केही व्यक्तिहरूले “जात त दुईवटा मात्रै हुन्छ — पुरुष र महिला” भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दोहोर्याउन थालेका छन्। सतहमा सामान्य लाग्ने यो भनाइ भित्र गम्भीर समस्या लुकेको छ — वैज्ञानिक यथार्थप्रतिको बेवास्ता, लैंगिक विविधताप्रति असहिष्णुता र सामाजिक न्यायका मूल्यमान्यतामाथि प्रत्यक्ष प्रहार।
नेपाली समाजमा ‘जात’ शब्द दुई भिन्न अर्थमा प्रयोग हुन्छ। पहिलो, हिन्दू वर्ण व्यवस्थाबाट उत्पन्न सामाजिक जात, जसले मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रजस्ता श्रेणीमा बाँड्छ। जन्म र परम्परागत पेशाको आधारमा बनाइएको यो संरचना समयक्रममा विभेद, छुवाछुत र दमनको माध्यम बन्यो। दोस्रो अर्थमा कतिपयले ‘जात’ शब्दलाई लैंगिकता वा gender सँग मिसाउँछन्, जबकि gender भनेको व्यक्तिको आत्मबोध, सामाजिक भूमिका र मानसिक पहिचानसँग सम्बन्धित विषय हो।
लैंगिक पहिचान बहुआयामिक हुन्छ। कोही व्यक्ति पुरुष, महिला, तेस्रोलिंगी, नन-बाइनरी वा ट्रान्सजेन्डरको रूपमा आफूलाई अनुभव गर्न सक्छन्। यो पहिचान जन्मका जैविक विशेषता, सामाजिक अनुभव र व्यक्तिगत आत्मबोधको संयोजनबाट बनिन्छ। त्यसैले gender लाई दुई भागमा मात्र सीमित गर्ने प्रयास वैज्ञानिक दृष्टिले पनि गलत हो।
“जात दुईवटा मात्रै” भन्ने सोच Intersex व्यक्तिहरूको अस्तित्वलाई नकार्ने प्रयास हो। Intersex व्यक्तिहरू जन्मदै यस्ता जैविक विशेषतासहित आउँछन्, जसले परम्परागत पुरुष वा महिला परिभाषामा फिट हुँदैन। उनीहरूको पहिचान नस्वीकारिँदा सामाजिक बहिष्कार, मानसिक स्वास्थ्य समस्याहरू र अवसरहरूको अभाव बढ्छ। यसले केवल Intersex मात्र होइन, सम्पूर्ण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई प्रभावित गर्छ।
GSM समुदायको पहिचान र अधिकारलाई अस्वीकार गर्नु लोकतान्त्रिक मूल्य, वैज्ञानिक यथार्थ र मानव अधिकारको मर्मविपरीत छ। यस्तो अस्वीकारले मानसिक तनाव, आत्महत्या दर र सामाजिक बहिष्कारको जोखिम बढाउँछ। मानव शरीरजस्तै मानिसको लैंगिक अनुभूति पनि विविध हुन सक्छ। यो विविधता कमजोरी होइन, मानव समाजको प्राकृतिक रूपान्तरण र विविधताको हिस्सा हो।
Caste र gender पूर्णतः फरक विमा हुन्। Caste जन्म, पेशा र सामाजिक संरचनामा आधारित विभाजन हो, जुन ऐतिहासिक रूपमा दमनको साधन बनेको छ। Gender भने व्यक्तिको लैंगिक पहिचान, सामाजिक भूमिका र आत्मबोधको समिश्रण हो। यी दुईलाई एउटै अर्थमा प्रस्तुत गर्नु न त तार्किक छ, न नैतिक।
समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न यी दुई अवधारणाबीचको भिन्नता बुझ्नु अत्यावश्यक छ। समाजले मानवीय विविधतालाई स्वीकार्न, लैंगिक पहिचानको सम्मान गर्न र वैज्ञानिक दृष्टिकोणलाई प्राथमिकता दिन सके मात्र समानता र सहअस्तित्वको भावना बलियो बन्न सक्छ। लैंगिकता र सामाजिक जात एउटै होइनन्—यसलाई पहिचान गर्नु नै समावेशी समाजतर्फको पहिलो कदम हो।











