मकवानपुरका सयौँ युवाको मौन संघर्ष, पीडा र पुनर्जीवन यात्रासँग नजिकबाट जोडिँदा मैले एउटा गहिरो कुरा बुझ्न सकेँ—मानिसको मानसिक अवस्था बाहिरी अनुहारमा देखिँदैन। हाँसिरहेको वा सामान्य जीवन चलाइरहेको व्यक्तिको मनभित्र के–कस्तो पीडा चलिरहेको छ, त्यो बाहिरबाट थाहा पाउन कठिन हुन्छ। विशेषगरी लागुऔषध प्रयोगमा फसेका युवाहरूको भित्रको बेचैनी, आत्मघृणा, पारिवारिक चोट, सामाजिक तिरस्कार र मानसिक स्वास्थ्य संकट यति गहिरो हुन्छ कि बाहिरी आँखाले अनुमानै गर्न सकिँदैन।
नेपालमा अझै पनि लागुऔषध प्रयोगलाई अपराधका रूपमा हेर्ने प्रवृत्ति हट्न सकेको छैन। तर मेरो दैनिक पेशागत अनुभवले एउटा स्पष्ट सत्य देखाउँछ—लागुऔषध निर्भरता अपराध होइन, उपचार आवश्यक पर्ने स्वास्थ्य अवस्था हो। संयुक्त राष्ट्रसङ्घका मापदण्डहरू र विश्व स्वास्थ्य संगठनका दिशानिर्देशहरूले पनि पुनर्स्थापना केन्द्रहरूलाई स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा मान्यता दिनुपर्ने कुरा उल्लेख गरेका छन्। तर हाम्रो समाजले अझै पनि “अपराधी” को दृष्टिले हेर्ने परम्पराले युवाहरूलाई उपचारबाट टाढा धकेलेको छ।
सिआन पुनर्स्थापना केन्द्रमा काम गर्दा मैले पुनःपुनः देखेको कुरा भनेको दण्ड र दबाबले कहिल्यै निको हुँदैन। तर सही उपचार, मनोसामाजिक परामर्श र भावनात्मक सहयोगले धेरै युवाहरूले जीवनमा फेरि नयाँ अध्याय सुरु गरेका छन्। कसैले पढाइमा फर्किएको छ, कसैले रोजगारी पाएको छ, कसैले परिवारसँग टुटेको सम्बन्ध पुनः जोडेको छ। यी परिवर्तनले प्रमाणित गर्छ कि समस्या मानिस होइन, उनीहरू परेका अवस्था हो। समाधान तिनीहरूलाई दोषारोपण होइन, उपचार र सहयोगले मात्र सम्भव हुन्छ।
मकवानपुर आज ती जिल्लामध्ये पर्छ जहाँ युवा पुस्ता धेरै दबाब र जोखिमबीच बसिरहेको छ। बेरोजगारी, साथी–समुदायको प्रभाव, पारिवारिक द्वन्द्व, शहरको ताना–बाना र मानसिक स्वास्थ्य सेवाको अभावले यहाँका अनेकौं युवा असुरक्षित अवस्थामा छन्। परामर्शका क्रममा सुन्ने कथाहरू—आत्महत्याको प्रयासदेखि परिवारबाट अलगावसम्म—यथार्थका तिता रूप हुन्। तर उपचार सुरु गरेपछि ती नै युवा कसरी उठ्छन् र कसरी फेरि जीवनमा लक्ष्यसहित अघि बढ्छन् भन्ने कुरा प्रेरणादायी हुन्छ।
यी सबै अनुभवले मलाई राष्ट्रिय स्तरमा एक स्पष्ट माग राख्न बाध्य बनाएको छ—नेपालले अब नियन्त्रणभन्दा अघि पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ। कानुनले “दण्ड होइन, उपचार” भन्ने सिद्धान्त अघि नै समावेश गरिसकेको छ, तर यसको व्यवहारिक कार्यान्वयन अझै कमजोर छ। यसलाई प्रभावकारी बनाउने जिम्मा सरकार, प्रहरी, विद्यालय, परिवार र समुदाय सबैको साझा हो।
समाजले दोष होइन सहयोग दिनुपर्ने बेला आएको छ। तिरस्कार होइन अवसर दिनुपर्छ। कलंक होइन करुणा आवश्यक छ। किनकि उपचारमा आएका प्रत्येक व्यक्ति भित्र भविष्य निर्माण गर्ने क्षमता हुन्छ। आवश्यक केवल त्यति हो—उनीहरूलाई योग्य, सम्भावनायुक्त र परिवर्तन गर्न सक्षम भएर हेर्न सक्ने दृष्टि।
मनिष मान श्रेष्ठ, लागुऔषध उपचार विशेषज्ञ तथा परामर्शदाता, सिआन पुनर्स्थापना केन्द्र, मकवानपुर











