हेटौंडा। सामाजिक सञ्जाल र मोबाइल बैंकिङको तीव्र विस्तारसँगै मकवानपुरमा साइबर ठगीका घटनाहरू भयावह रूपमा बढिरहेका छन्। अनलाइन जागिर, लटरी, सस्तो मूल्यमा महँगो सामान, बैंक केवाईसी भेरिफिकेसन जस्ता प्रलोभनमा परेर विद्यार्थीदेखि कर्मचारी र व्यवसायीसम्मले लाखौं रुपैयाँ गुमाएका छन् । धेरैजसो पीडितले ठगी भएको थाहा पाउँदा ढिलो भइसकेको हुन्छ र पैसा फिर्ता हुने सम्भावना न्यून देखिन्छ।
हेटौंडा उपमहानगरपालिका भित्रकी स्नातक तहमा अध्ययनरत एक विद्यार्थी कान्छी (नाम परिवर्तन) ले इन्स्टाग्राममा देखिएको अनलाइन जागिरको विज्ञापनमा विश्वास गर्दा ठगीमा परिन्। पढाइसँगै आम्दानी गर्ने आशामा उनले सम्पर्क गरेकी थिइन्। सुरुमा थोरै रकम हाल्दा केही नाफा आएको देखाइएपछि ठूलो रकम लगानी गरे बढी कमिसन आउने लोभ देखाइयो। क्रमशः १९ हजार रुपैयाँ हालिसकेपछि थप ५० हजार मागिन थाल्यो। त्यतिबेला आफू ठगिँदै गरेको थाहा पाएर पैसा फिर्ता माग्दा ‘इसेवामा छ’ भन्दै भ्रममा राखियो र पछि सम्पर्कविहीन बनाइयो। एक महिनाअघि उनले प्रहरीमा उजुरी दिएकी छन्।
यस्तै, कार्तिक १७ गते सरोज (नाम परिवर्तन) लाई ह्वाट्सएपमार्फत फोन आयो। फोन गर्ने व्यक्तिले आफू बैंकको हेड अफिसबाट बोलिरहेको भन्दै केवाईसी भेरिफिकेसनको बहानामा स्क्रिन सेयर गर्न लगायो। स्क्रिन सेयर गरेकै क्रममा उनको खातामा रहेको तीन लाख रुपैयाँ अन्य व्यक्तिको खातामा ट्रान्सफर भयो। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको उजुरीअनुसार अनुसन्धान गर्दा रकम गएको खाता फेक केवाईसीमा आधारित रहेको र संलग्न व्यक्ति फरार रहेको खुलेको छ।
पुस ४ गते प्रेम (नाम परिवर्तन) लाई फेसबुकमार्फत दुई लाख ८९ हजार रुपैयाँको लटरी परेको भन्दै विश्वास दिलाइयो। लटरी निकाल्न कर तिर्नुपर्ने बहानामा ८० हजार रुपैयाँ ठगी गरियो। पीडितको नाम थरसँग मिल्ने व्यक्तिको लटरी परेको भन्दै नक्कली कागजात, डुप्लिकेट भौचर र नेपाल भन्सारको फेक नम्बर प्रयोग गरी ठगी गरिएको प्रहरीको भनाइ छ।
मंसिर २३ गते मिलन (नाम परिवर्तन) लाई पनि ह्वाट्सएपबाट फोन आयो। फोन गर्नेले आफू नेपाल बैंकको कर्मचारी भएको दाबी गर्दै केवाईसी भेरिफिकेसनका लागि मोबाइलमा आएको कोड दिन आग्रह गर्यो। कोड सेयर गरेपछि उनको खाताबाट एक लाख ७० हजार रुपैयाँ अन्यत्र ट्रान्सफर गरियो र खातामै पहुँच लिई ठगी गरिएको पाइएको छ।
फेसबुक र टेलिग्राममा देखिने अनलाइन जागिरका विज्ञापनबाट सरिता (नाम परिवर्तन) पनि ठगीमा परेकी छन्। सुरुमा १० हजार लगानी गर्दा १६ हजार आएको देखाइ थप लगानी गर्न उक्साइयो। विभिन्न खातामा पैसा हाल्न लगाउँदै क्रमशः ठूलो रकम ठगी गरिएको छ। टेलिग्राममा बैंक खाताजस्तै देखिने नक्कली ड्यासबोर्ड देखाएर विश्वास दिलाइएको थियो।
त्यसैगरी अरुण (नाम परिवर्तन) सामाजिक सञ्जालमा देखिएको सस्तो मूल्यमा महँगो सामानको विज्ञापनको भरमा परे। सामान डेलिभरी गर्नुअघि भुक्तानी गर्नुपर्ने भन्दै क्युआर कोडमार्फत पैसा लिइयो। पछि ‘पैसा होल्डमा छ, रिलिज गर्न थप रकम हाल्नुपर्छ’ भन्दै फेरि पैसा मागियो। मोबाइलको सेटिङ मिलाउनुपर्छ भन्दै स्क्रिन सेयर गराउँदा खातामा रहेको सबै रकम निकालिएको पीडितले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि मंसिरसम्म फेसबुक ह्याक, फेक फेसबुक र टिकटक लगायतका ४९ घटना दर्ता भएका छन् भने अनलाइन ठगी र स्क्यामका ९६ उजुरी परेका छन्, जसमध्ये थोरै मात्र फछ्र्यौट भएका छन्। अघिल्ला वर्षहरूमा पनि फेसबुक ह्याक र फेक अकाउन्टसम्बन्धी सयौं उजुरी परेका तथ्यांकले साइबर अपराधको भयावहता देखाउँछ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार मोबाइल बैंकिङ र विभिन्न एप्सको दुरुपयोग नै साइबर ठगी बढ्नुको मुख्य कारण हो। बैंकको कर्मचारी बनेरै लाखौं रुपैयाँ ठगी भएका घटना छन्। साइबर अपराध देशभित्र मात्र होइन, विदेशबाट पनि हुने भएकाले अनुसन्धान जटिल हुने उनले बताए । अत्याधुनिक प्रविधि र तालिम प्राप्त प्राविधिक आवश्यक पर्ने भएकाले ठगीमा परिसकेपछि पैसा फिर्ता हुने सम्भावना न्यून रहने उनको भनाइ छ।
प्रहरीले सामाजिक सञ्जालमा देखिने अनलाइन जागिर, लटरी, सस्तो सामान र बैंक केवाईसीका नाममा आउने फोन तथा सन्देशप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नचिनेको व्यक्तिको फोन नउठाउने, शंकास्पद लिंक नखोल्ने, स्क्रिन सेयर र ओटीपी वा कोड सेयर नगर्ने नै साइबर ठगीबाट जोगिने प्रमुख उपाय भएको प्रहरीले स्पष्ट पारेको छ। प्रहरीका अनुसार जनचेतना बिना साइबर ठगी न्यूनीकरण सम्भव छैन र यसमा समाज, व्यक्ति र सञ्चारमाध्यम सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ।











