हेटौंडामा बालगृहको गेटबाहिर फेला पर्यो नवजात शिशु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो १ बजेतिर भेटिएको शिशुको उमेर करिब १२ देखि १५ दिनको अनुमान गरिएको छ। शिशु अत्यन्तै नाजुक अवस्थामा फेला परेको र उसको तौल मात्र ७५० ग्राम रहेको उनले जानकारी दिइन्।

शिशुलाई सुरुमा हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको थियो। तर अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।

शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका सामग्रीको फोटो राखिएको भन्दै आमाको पहिचानमा सहयोग पुर्‍याउन सक्ने जानकारी वा आफन्त रहेको व्यक्तिहरूलाई हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

बालगृहको वार्डेनले गेटबाहिर शिशु भेटेपछि सम्बन्धित निकायलाई खबर गरिएको र महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ तथा ‘हाम्रो घर बालगृह’को संयुक्त पहलमा तत्काल अस्पताल पुर्‍याइएको हो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.