ट्रकको चक्काले किच्दा ६४ वर्षीया महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ कर्रामा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
बिहीबार साँझ करिब ५ः३५ बजे पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्रा क्षेत्रमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल घर जाने क्रममा दायाँ मोड्दा अनियन्त्रित भई सडकमा लडेको थियो। सोही क्रममा हेटौँडा बजारबाट कर्रातर्फ जाँदै गरेको ना.८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलमा पछाडि सवार हेटौँडा–४ श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकलाई किचेको थियो।
गम्भीर घाइते भएकी पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दायाँ खुट्टामा सामान्य चोट लागेको छ। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालक हेटौँडा–१३ पदमपोखरी निवासी ४४ वर्षीय मनराज थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.