बागमती प्रदेशमा प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्ड गठनको माग गर्दै मुख्यमन्त्रीलाई मागपत्र

हेटौंडा । संस्कृति, भाषा, साहित्य, कला, संगीत, नाट्य र चलचित्रको प्रवर्द्धन तथा संरक्षणका लागि बागमती प्रदेशमा ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’ गठनको माग गर्दै एक समूह सांस्कृतिककर्मी, स्रष्टा तथा प्राज्ञिक समुदायले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई औपचारिक मागपत्र बुझाएका छन्।

उक्त मागपत्र अध्यक्ष तीर्थबहादुर थापाको नेतृत्वमा तयार पारिएको हो। मागपत्र बुझाइसकेपछि मुख्यमन्त्री बानियाँलाई स्वागत तथा सम्मान पनि गरिएको थियो।

मागपत्रमा भनिएको छ — “गीत, संगीत, नृत्य, नाटक, चलचित्र मात्रै संस्कृति होइन। संस्कृति भनेको हाम्रो संस्कार, परम्परा, भाषा, धर्म, कला, भेषभुषा, साहित्य, दर्शन र सामाजिक जीवनपद्धतिको समष्टिगत स्वरूप हो। यसको प्रवर्द्धन र सम्मान विना राष्ट्रको समृद्धि सम्भव छैन।”

सांस्कृतिक कर्मीहरूले राष्ट्र निर्माणको आधारभूत खम्बा रहेको भन्दै संस्कृति तथा यस क्षेत्रमा समर्पित व्यक्तित्वहरूको संरक्षण र सशक्तिकरणको आवश्यकतामा जोड दिएका छन्।

मागपत्रमा गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरु गठन गरिसकेको सन्दर्भ दिँदै, बागमती प्रदेश सरकारले पनि भाषा-साहित्य, ललितकला, संगीत तथा नाट्य विधा समेट्ने ‘बागमती प्रज्ञा प्रतिष्ठान’ यथाशिघ्र गठन गर्न माग गरिएको छ।

त्यस्तै, नेपाल चलचित्र विकास बोर्डजस्तै गरी बागमती प्रदेशको मातहत ‘बागमती चलचित्र विकास बोर्ड’ गठन गर्न माग गरिएको छ। मागपत्रमा चलचित्रलाई संस्कृति, सम्पदा, पर्यटन र ऐतिहासिक पहिचान प्रवर्द्धन गर्ने सशक्त माध्यमको रूपमा चिनाउँदै, यस क्षेत्रका सिर्जनाकर्मीहरूको सम्मान र भविष्य सुरक्षाको आवश्यकता औंल्याइएको छ।

मागपत्रमा भनिएको छ —“२१औं शताब्दीको गतिमा सुसज्जित प्रदेश निर्माणमा यस्ता संस्थागत संरचना अपरिहार्य छन्। यहाँजस्तो कर्मशील र दूरदर्शी नेतृत्वमा प्रदेशले सांस्कृतिक पुनर्जागरणको नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास गरेका छौं।”

कार्यक्रमको समापनमा अध्यक्ष तीर्थबहादुर थापाले सांस्कृतिक क्षेत्रमा कार्यरत स्रष्टाहरूको योगदानप्रति प्रदेश सरकारले सम्मानजनक नीतिगत पहल गर्नु आजको आवश्यकता भएको बताए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मागपत्र ग्रहण गर्दै यस विषयमा सकारात्मक ध्यान दिने आश्वासन दिएको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.