मकवानपुर । मकवानपुरको हेटौंडा –१५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ को सिमानामा पर्ने चुरियामाई क्षेत्रको पूर्व–पश्चिम राजमार्ग खण्डमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब १४:५० बजेको समयमा नं.२ राजदल गण तनहुँबाट धनुषा तर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेका ४ वटा नेपाली सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक चुरियामाईस्थित सिमानाको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको हो। ट्रकमा २२ जना सेना सवार थिए।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा, ट्राफिक कार्यालय र विभिन्न प्रहरी इकाइबाट गरी २५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए। साथै, बाराको अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक धन बहादुर श्रेष्ठको कमाण्डमा थप ७ जना प्रहरी टोली पनि उद्दारका लागि परिचालित भएको थियो।
घाइतेहरुको उद्दार नेपाली सेनाको सहयोगमा गरिनुका साथै हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको छ।
१६ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको जानकारी दिइएको छ। सबै घाइतेहरू युनिफर्ममै थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










