मकवानपुर । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं जान लागेका यात्रुहरू समस्यामा परेका छन्। विशेषगरी आज रातिसम्म अन्तर्राष्ट्रिय उडानको टिकट काटेका यात्रुहरूको यात्रा जोखिमपूर्ण भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले समन्वय गरेर वैकल्पिक यातायातको व्यवस्था थालेको छ।
प्रहरीका अनुसार करिब ३५ जना यात्रुहरूलाई विशेष सवारी साधनमार्फत गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ। हेटौंडा क्षेत्रमा अलपत्र परेका अन्य पर्यटकहरूको अवस्थाबारे समेत छलफल भइरहेको र आवश्यक परेको खण्डमा थप समन्वय हुने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुवास चन्द्र बोहराले अविरल वर्षाका कारण केही मार्गहरू जोखिमपूर्ण भएको जानकारी दिँदै भने, “तत्कालै यात्रा गर्नु पर्ने, विशेषगरी अन्तर्राष्ट्रिय फ्लाइट भएका यात्रुहरूको सहजीकरणका लागि प्रहरीले समन्वय गरिरहेको छ।”
यसैबीच यात्रु र पर्यटकलाई सुरक्षित र व्यवस्थित ढंगले गन्तव्यमा पु-याउन स्थानीय प्रशासन, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीच समन्वय भइरहेको छ।










