हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले माइती नेपाल मकवानपुरमा आवासीय रूपमा तालिम लिइरहेका बेचबिखन जोखिममा पर्नसक्ने किशोरीहरूलाई न्यानो कपडा वितरण गरेको छ। मंगलबार हेटौंडा–४ स्थित माइती नेपाल मकवानपुरमा आवासीय तालिम लिइरहेका, पढाइ छोडेका तथा बेचबिखन जोखिममा रहेका २० जना किशोरीलाई मन्त्रालयले न्यानो कपडा वितरण गरेको हो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत १५औँ दिनका अवसरमा गरिएको कपडा वितरण कार्यक्रम सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृत अधिकारीको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे प्रमुख अतिथिका रूपमा उपस्थित रहे र न्यानो कपडा वितरण गरे।
कार्यक्रममा बोल्दै मन्त्री बादेले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनमै सीमित नभई वर्षभरि चलाउनुपर्नेमा जोड दिए। उनले समाज रूपान्तरणका लागि व्यवहारिक कार्यक्रममार्फत हिंसा न्यूनीकरण गर्न सबैले भूमिका खेल्नुपर्ने बताए। संघ–संस्था तथा प्रहरीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उनले सामाजिक विकास मन्त्रालय सधैं सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, प्रदेश प्रहरी संगिता पाण्डे, मुख्यमन्त्री कार्यालयबाट लुना तिमल्सिना,मन्त्रालय अधिकृत लक्षमण पुडासैनी, मन्त्रालयका कर्मचारी, विभिन्न संघ–संस्था तथा प्रहरी प्रतिनिधिहरूको उपस्थिति थियो।
माइती नेपालका अनुसार हाल सिन्धुली, मकवानपुरगढी, बकैया, राक्सिराङ र कैलाश गाउँपालिकाका किशोरीहरू आवासीय रूपमा विभिन्न कौशल विकास तालिम लिइरहेका छन्। कार्यक्रम संयोजक माया लामाले किशोरीहरू जोखिममुक्त भविष्य निर्माणका लागि आत्मनिर्भरता अभिमुखि तालिम प्रदान भइरहेको जानकारी गराइन्।










