मनहरी गाउँपालिकामा स्थानीय तहबाटै करदाता सेवा सुरु

हेटौँडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले स्थानीय स्तरमै करदाता सेवा सञ्चालनमा ल्याउने भएको छ। आगामी वैशाख ९ गतेदेखि सुरु हुने यो सेवा जिल्लामै पहिलो पटक स्थानीय तहबाट प्रदान गर्न लागिएको हो।

संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार अब करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू भएसँगै मनहरी गाउँपालिकाले यसको सुरुवात गर्न लागेको जनाएको छ। यससँगै गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, प्यान रुपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी कामहरू गर्न सकिनेछ।

गाउँपालिकाका अनुसार अन्तःशुल्कसम्बन्धी इजाजतपत्र जारी तथा नवीकरण प्रक्रिया पनि अब स्थानीय स्तरमै सहज हुनेछ। आवश्यक कागजात संकलन र प्रारम्भिक प्रमाणीकरण गाउँपालिकाबाटै हुने भए पनि अन्तिम स्वीकृति भने सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुनेछ।

यस सेवाका लागि गाउँपालिकाका तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम दिइसकेको छ भने आवश्यक प्रविधि र उपकरणको व्यवस्थापन पनि पूरा गरिएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले यस सेवाले करदातालाई समय र खर्च बचत गर्नुका साथै सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सरकारले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयपछि सुरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सञ्चालित कार्यक्रम अब स्थानीय तहमा हस्तान्तरण गर्दै कार्यान्वयनमा ल्याइएको हो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.