हेटौंडा । हेटौंडा–१० स्थित शान्ति अप्टिकल सेन्टर चस्मा व्यवसायमा १७ वर्ष पूरा गर्दै विशेष छुटसहितको सेवा अभियान सुरु गरेको छ। २०६५ सालमा स्थापना भएको यस अप्टिकल सेन्टरले वार्षिकोत्सवको अवसरमा मंसिर २८ गते आइतबारदेखि शुक्रबारसम्म ‘छुट सेवा सप्ताह’ सञ्चालन गर्ने जनाएको छ।
सञ्चालक सुदिप ठकुरीका अनुसार अफर अवधिभर सर्वसाधारण ग्राहकलाई २० प्रतिशत र जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ। चस्मा, फ्रेम, पावर ग्लास तथा आँखासम्बन्धी सम्पूर्ण सेवामा छुट उपलब्ध गराइने उनले जानकारी दिए।
अस्पताल नजिकैबाट सुरु भएको सेवा यात्रा
२०६५ सालमा तिलगंगा आँखा अस्पताल हेटौंडा–१० मा स्थापना हुँदा आसपासमा कुनै अप्टिकल सेवा उपलब्ध थिएन। अस्पताल आउने बिरामीलाई सहज होस् भन्ने सोचका साथ ठकुरीले शान्ति अप्टिकल सेन्टर स्थापना गरे। सुरुवातमा एक्लै सञ्चालन गरिएको यो व्यवसाय अहिले हेटौंडाको विश्वासिलो नाम बनेको छ।
ठकुरी सम्झन्छन्, “त्यतिबेला यहाँ शान्ति अप्टिकल मात्र थियो। आज वरिपरि ७–८ वटा अप्टिकल खुलेका छन्। प्रतिस्पर्धा बढे पनि सेवाको गुणस्तर र व्यवहारले ग्राहक बाँधेर राख्न सकेका छौं।”
शान्ति अप्टिकल सेन्टरमा नेपाली ब्रान्ड गोर्खा, एम.टि. पोलो, एभरेष्ट लगायतका चस्मा उपलब्ध छन्। साथै, चस्माको पावर ग्लासमध्ये ओपिक्स (Oppix) ब्रान्डको हेटौंडाका लागि आधिकारिक विक्रेता पनि ठकुरी नै हुन्। क्यानडा, अमेरिका, स्विट्जरल्यान्ड लगायत देशका ब्रान्ड हाल नेपालमा उपलब्ध रहेको र हेटौंडामा केही समयदेखि ठकुरीले बिक्री गर्दै आएको बताउँछन्।
१७ वर्षको अवधिमा करिब ६ हजार नियमित ग्राहकलाई सेवा दिँदै आएको शान्ति अप्टिकल सेन्टर आज उत्कृष्ट सेवा र ग्राहकमैत्री व्यवहारका कारण निरन्तर रूपमा सञ्चालनमा छ। ठकुरीको सरल र मिजासिलो स्वभावकै कारण “एकपटक आएका ग्राहक फेरि अन्त जाँदैनन्” भन्ने विश्वास स्थानीयस्तरमा स्थापित छ।
हेटौंडा–५ पिप्ले निवासी ४४ वर्षीय सुदिप ठकुरीले १६ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेपछि आफ्नै काकाको चस्मा पसलमा काम सुरु गरेका थिए। त्यसपछि उनी करिब आठ वर्षसम्म बिरगञ्जस्थित केडिया आँखा अस्पताल, परमानिपुर मा कार्यरत रहे।
अनुभव र सीप सँगाल्दै २०६५ सालमा हेटौंडा फर्किएर आफ्नै व्यवसाय सुरु गरेका ठकुरीले पछाडि फर्केर हेर्नुपरेन।
करिब एक वर्षअघि उनले हेटौंडा–४ स्कुल रोडमा ‘आइ अप्टिक एण्ड केयर सेन्टर’ पनि सञ्चालनमा ल्याएका छन्, जहाँ डाक्टरको सल्लाहसहित आधुनिक दृष्टि परीक्षण सेवा उपलब्ध छ। उनकी श्रीमती अनिता गोदार पनि यही पेशामा सक्रिय छन्। दम्पती मिलेर हेटौंडामा गुणस्तरीय दृष्टि सेवा विस्तार गरिरहेका छन्।
ठकुरीले आँखासम्बन्धी शिविरहरू धेरै सञ्चालन गरेको र त्यसको हिसाब–किताब नै नराखेको बताउँछन्।“समाजसेवामा रमाउन थालेपछि यही पेशामा भिजिसकेको महसुस हुन्छ,” उनी भन्छन्।
भविष्यमा नयाँ शाखाभन्दा पनि आँखा अस्पताल नै खोल्ने सपना रहेको बताउँदै ठकुरीले भने, “१७ वर्षमा जुन धरातलमा आइपुगेको छु, अब समयको मागअनुसार ठूला काम गर्ने सोच बनाएको छु।”
२४ वर्षभन्दा बढी समय यही पेशामा बिताएका ठकुरी युवालाई देशमै आत्मनिर्भर बन्न आग्रह गर्छन्।
उनको भनाइ छ,“विदेश जाने सोच मलाई कहिल्यै आएन। इमानदार मेहनत गरे आफ्नै देशमा पनि सफल हुन सकिन्छ। सानो कामबाट सुरु गरेर धैर्य गर्न सके यही माटोमा सन्तुष्टि पाइन्छ।”
मेहनत, इमानदारी र निरन्तर प्रयासका कारण हेटौंडाको व्यावसायिक क्षेत्रमा पृथक पहिचान बनाएका सुदिप ठकुरी आज युवाका लागि प्रेरणादायी व्यक्तित्व बनेका छन्।










