हेटौंडा । हेटौँडा बजार क्षेत्रमा २५–२५ मिटर सडक सिमा कायम गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयलाई विपक्षी बनाउँदै दायर गरिएको रिट सर्वोच्च अदालतको इजलास नम्बर ६ मा ‘च’ नम्बरमा पेशी चढेको हो।
रास्वपा नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारसहितका निवेदकहरूको तर्फबाट दायर रिटको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा हुने तय भएको छ।
निवेदक पक्षले सडक सिमा २५–२५ मिटर (हाल २५–२५ गज) कायम गरी त्यस भित्रका निजी संरचना हटाउने कार्यले नागरिकको व्यक्तिगत सम्पत्ति र हक अधिकारमा हस्तक्षेप भएको दाबी गर्दै गत मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नहटाउन र यथास्थिति कायम गर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। साथै, अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश गरिएको थियो।
त्यसपछि मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सम्बन्धित मिसिल झिकाउने आदेश दिँदै आज पुस २ गतेका लागि पेशी तोकेको हो।
उक्त मुद्दामा सडक डिभिजन कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ।
उल्लेखनीय छ, सडक विस्तारको प्रक्रिया अघि बढाउँदै सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गरेको थियो। त्यसपछि मंसिर २० गते प्रशासनको सहयोगमा प्रहरी परिचालन गरी करिब ७ किलोमिटर क्षेत्रमा पाँच सयभन्दा बढी घर तथा संरचना जेसीबी प्रयोग गरेर भत्काइएको थियो।










