हेटौंडा । लैङ्गिक हिंसा प्रतिकार्य संयन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित बागमती प्रदेश स्तरीय सम्मेलन हेटौंडामा आयोजना हुने भएको छ। प्रदेश सरकारको भूमिका, संघीय सरकारसँगको समन्वय तथा स्थानीय तहलाई सहयोग गर्ने विषयमा केन्द्रित सम्मेलनबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
मकवानपुर महिला उत्थान समाज र चितवन महिला प्रतिष्ठानको नेतृत्वमा तथा सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्मेलन हुन लागेको हो। कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला संजाल मकवानपुर र यौन हिंसा विरुद्धको साझा अभियानको साझेदारी रहेको आयोजकले जनाएको छ।
सम्मेलनको प्रमुख अतिथि बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईं रहनेछिन्।
पत्रकार सम्मेलनमा अधिवक्ता अप्सरा बस्नेत, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबा, मकवानपुर महिला उत्थान समाजकी कार्यक्रम संयोजक निशा लामा तथा एक्षनएड नेपालकी कार्यक्रम अधिकृत कविता बस्नेतलगायतले सम्मेलनको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए।
आयोजकका अनुसार सम्मेलनमा बागमती प्रदेशका महिला अधिकारकर्मी, संघ, प्रदेश र स्थानीय तहका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। सम्मेलनले लैङ्गिक हिंसा विरुद्ध प्रभावकारी प्रतिकार्य संयन्त्र निर्माणमा नीतिगत तथा कार्यान्वयन तहमा ठोस योगदान गर्ने अपेक्षा गरिएको छ।










