हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संशोधन गर्दै थप ३ करोड ४६ लाख ९० हजार रुपैयाँ बढाएको छ। शुक्रबार सम्पन्न १८औँ नगरसभाले संशोधित तथा पूरक बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
यसअघि १७औँ नगरसभाबाट २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँको कुल आय–व्यय अनुमान स्वीकृत गरिएको थियो। संशोधनपछि उपमहानगरको कुल बजेट २ अर्ब ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ का क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त उपमहानगरपालिकाका मुख्य भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र सवारी साधनहरूको पुनर्निर्माण तथा मर्मतका लागि बजेट संशोधन गरिएको जनाइएको छ।
नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा संघीय सरकारबाट समानीकरण तथा सशर्त अनुदानतर्फ ६२ करोड ७ लाख १९ हजार रुपैयाँ र प्रदेश सरकारबाट विभिन्न अनुदानमार्फत ५ करोड ६२ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए। यस्तै, राजश्व बाँडफाँडतर्फ १६ करोड ४ लाख ६४ हजार र नगरको आन्तरिक स्रोत तथा गत वर्षको नगद मौज्दातबाट २१ करोड ४६ लाख रुपैयाँ संकलन भएको बताइयो। कुल अनुमानको ३६.३० प्रतिशत आम्दानी भएको नगरसभालाई जानकारी गराइएको छ।
खर्चतर्फ प्रशासनिक व्ययमा १९ करोड १४ लाख ९६ हजार रुपैयाँ अर्थात् ३०.७३ प्रतिशत खर्च भएको छ। संशोधित बजेटअनुसार जेन जी आन्दोलनबाट क्षति पुगेका कार्यालयका लागि सामग्री, उपकरण तथा फर्निचर व्यवस्थापनमा १३ करोड १९ लाख ५६ हजार, भौतिक संरचना पुनर्निर्माणमा २१ करोड ६८ लाख ५० हजार र गत वर्षको दायित्व भुक्तानीका लागि ५ करोड ८० लाख २३ हजार रुपैयाँ थप गरिएको छ। यसरी कुल ४० करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको अतिरिक्त बजेट सभामा पेश गरिएको थियो।
उपप्रमुख बानियाँका अनुसार प्राप्त अनुदान र राजश्वले कुल खर्च धान्न नसक्ने अवस्था आएपछि केही पूर्वाधार विकासका योजनाहरू कटौती गर्नुपरेको हो। हालसम्म ६४ करोड १४ लाख ११ हजार रुपैयाँ अर्थात् २२.११ प्रतिशत ‘वर्षभार’ रहेको पनि उनले जानकारी दिए।
नगरसभालाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख मिना लामाले जेन जी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माण र राष्ट्रिय राजमार्ग विस्तारका कारण व्यवसायी विस्थापित हुँदा राजश्व संकलनमा कमी आएको बताए।










