भीमफेदी कारागारमा अझै १४० फरार कैदीबन्दी सम्पर्कबाहिर

मकवानपुर । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागेका फरार कैदीबन्दीमध्ये भीमफेदी कारागारमा अझै १४० जना कैदीबन्दी फर्किन बाँकी रहेका छन्। भागेका कैदीबन्दीमध्ये हालसम्म करिब ३०० जना भने फिर्ता भइसकेका छन्।

भीमफेदीस्थित क्षेत्रीय कारागारको क्षमता १ हजार ५ सय जनाको रहेको छ। कारागार प्रशासक उपसचिव सुवास पौडेलका अनुसार हाल कारागारमा ९ सय ३६ जना कैदीबन्दी रहेका छन्। तीमध्ये ६ सय ७१ जना स्वदेशी कैदी, २५ जना विदेशी कैदी, २ सय ५४ जना स्वदेशी बन्दी तथा २२ जना विदेशी बन्दी रहेका छन्।

कारागारको ‘क’ र ‘ख’ ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ भने ‘ग’ ब्लकमा ४८ जना महिला कैदीबन्दी रहेका छन्। कारागारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। साथै, कैदीबन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयआर्जनका कार्यक्रमसमेत सञ्चालनमा छन्।

आयआर्जन कार्यक्रमअन्तर्गत सिलाइ मेसिन चलाउने, गलैंचा बुन्ने, मुढा बुन्ने तथा इलेक्टिसियनसम्बन्धी तालिम दिइँदै आएको छ। तालिमपछि कैदीबन्दीहरू विभिन्न काममा संलग्न भइरहेको कारागार प्रशासनले जनाएको छ।

यता, स्वास्थ्य सेवामा भने समस्या देखिएको छ। बिरामी हुँदा अस्पताल टाढा भएकाले ओसारपसारमा कठिनाइ हुने गरेको कारागार प्रशासनको भनाइ छ। सामान्य उपचारबाहेकका बिरामीलाई हेटौंडा अस्पताल लैजानुपर्ने हुँदा दैनिक झन्डै १० जनासम्म बिरामी हुने गरेको बताइएको छ। कारागारभित्र सामान्य स्वास्थ्य सेवाका लागि हाल दुई जना स्वास्थ्यकर्मी कार्यरत छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.