हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा जेष्ठ नागरिकका लागि आश्रय (विश्राम) कक्ष निर्माण कार्य सुरु गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष नवीन सिग्देलले उक्त कक्षको सिलान्यास गरेका हुन्।
४ नम्बर वडा कार्यालयको समन्वय तथा बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा कक्ष निर्माण हुन लागेको हो। आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित १८ लाख रुपैयाँ बजेटबाट जेष्ठ नागरिक विश्राम कक्ष स्थापना गरिने वडा अध्यक्ष सिग्देलले जानकारी दिए ।
हुप्राचौर क्षेत्रमा दैनिक रूपमा सयौं जेष्ठ नागरिकको आवतजावत हुने तथा उनीहरू बस्ने समेत गर्ने भएकाले सहजता प्रदान गर्न कक्ष निर्माण गर्न लागिएको बताइएको छ। स्थानीय बासिन्दा र जेष्ठ नागरिकको मागका आधारमा योजना अघि बढाइएको अध्यक्ष सिग्देलको भनाइ छ।
कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी, हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विष्णु कुमारी लामिछाने, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा लगायत स्थानीय जेष्ठ नागरिकहरूको उपस्थिति थियो।










