मकवानपुर । मकवानपुर जिल्लामा प्रहरीले लागूऔषध सम्बन्धी दुई छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बिहान ११:३० बजेको समयमा गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १९, बस्तीपुर स्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका एक व्यक्तिलाई रोकेर खानतलासी गर्दा लागूऔषध गाँजा फेला पारेको हो।
पक्राउ पर्ने व्यक्ति रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय दुर्गा कुमार साह हुन्। प्रहरीले उनको साथबाट झोलामा लुकाईछिपाई राखिएको ७ किलो ६५० ग्राम गाँजा फेला पारेको छ। प्रहरीले साहलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।
साँझ ७:३० बजेको समयमा लागूऔषध कारोबार भइ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १३, पदमपोखरी ठुलोथली क्षेत्रमा पैदल हिँडिरहेका एक व्यक्तिलाई खानतलासी गर्दा २१०० क्याप्सुल ट्रामाडोल फेला पारेको थियो।
पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने ४५ वर्षीय राज कुमार मोक्तान हुन्। उनलाई पनि नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुबै घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।










