कैलाशका लालकुमारको घर बन्ने, मुख्यमन्त्रीबाट २ लाख सहयोग

मकवानपुर । मकवानपुर जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

पचास वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए। सन्तानविहीन र आर्थिक रूपमा अति विपन्न लालकुमार आफ्नी श्रीमती सानुमाया चेपाङसँग गाउँमै कृषि र पशुपालन गरेर गुजारा गर्दै आएका छन्। सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांगता भएको अवस्था छ।

लालकुमारसँग दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए।

उनीहरूको दयनीय अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले मुख्यमन्त्री राहत कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सिफारिस गरेको थियो। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानद्वारा सिफारिस पत्र बुझाएपछि मुख्यमन्त्री बानियाँले तत्कालै पहिलो किस्तास्वरूप रु २ लाख सहयोग उपलब्ध गराएका हुन्।

“सन्तान छैनन्, घर जीर्ण छ, खरको छानो र काठपातले घेरेको मात्रै छ। त्यसैले लालकुमारलाई प्राथमिकतामा राखेर सुरक्षित आवास निर्माणका लागि सिफारिस गरेका हौं,” अध्यक्ष मुक्तानले भने।

मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गास, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सुरक्षित आवास कार्यक्रम अघि बढाइएको बताए।

सिफारिस तथा सहयोग हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका वडाध्यक्ष तेज ब्लोन (वडा–१), राजेन्द्र घिसिङ (वडा–२), उदास कुमार भुलन (वडा–७), आशिष प्रजा (वडा–८), भुवनसिं घलान (वडा–९) सहित नेपाली कांग्रेसका वडा सभापतिहरूको उपस्थिति थियो।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि आर्थिक सहयोग गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.