लोकतान्त्रिक शासकले अपनाउनुपर्ने न्यूनतम मूल्य र मान्यताको सीमा नाघ्दै सरकारले सोमबार हुर्किँदै गरेको नयाँ पुस्तामाथि बर्बर दमन गर्यो। सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध र भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका “जेनजी” पुस्ताका १९ जना युवाले प्रहरीको गोली खाएर ज्यान गुमाए। चार सयभन्दा बढी घाइते अझै अस्पतालको शैयामा उपचाररत छन्।
नेपालको शान्तिपूर्ण राजनीतिक आन्दोलनको इतिहासमा एउटै दिन एउटै स्थानमा यति धेरै नागरिकले राज्य दमनबाट ज्यान गुमाएको यो सम्भवतः पहिलो घटना हो। यो घटनाले केवल आन्दोलनकारीलाई मात्र होइन, सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। तर यति ठूलो त्रासदीपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली पदमै आसिन छन्। कांग्रेसका गृहमन्त्री रमेश लेखक भने सर्वत्र दबाबपछि राजीनामा दिन बाध्य भए।१९ दिने जनआन्दोलनमा यत्ति नै संख्यामा नागरिकको ज्यान गएको घटनापछि तत्कालीन राजा ज्ञानेन्द्रले गद्दी छोड्नुपरेको स्मरण सर्वत्र भइरहेको छ। तर अहिलेको आन्दोलन व्यवस्थाविरोधी होइन, बरु आफ्ना न्यूनतम नागरिक स्वतन्त्रताको रक्षा गर्न युवाले चर्काएको आवाज हो।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल भन्छन्, “यो नेपालको राजनीतिक इतिहासमै एउटा भयानक घटना हो। नागरिकमाथि सरकारले संयम गुमाएको छ, जिम्मेवारी लिने चेतना देखिँदैन।” उनका अनुसार, राजनीतिक दलका गतिविधिप्रति जनआक्रोश बढ्दै गएको थियो, तर सरकारले त्यसलाई व्यवस्थाविरोधी भन्दै बेवास्ता गर्यो।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नै आन्दोलनको चर्को स्वरुप बन्न पुग्यो। डिजिटल युगमा युवाको ठूलो समुदायलाई जबरजस्ती ‘डिस्कनेक्ट’ गरियो। त्यसलाई सडकमा पोखिँदा पनि सरकारले बुझ्न सकेन। अनुसन्धानकर्ता डा. जीवन बानियाँ भन्छन्, “सुरक्षा संयन्त्र सुरुवातमै असफल भयो। यो तहको मानवीय क्षति न्यूनतम सावधानीले रोक्न सकिन्थ्यो।”आन्दोलनमा कुनै औपचारिक नेतृत्व थिएन। विद्यालय र कलेजका विद्यार्थीहरू आफ्ना सामान्य मागसहित सडकमा उत्रिएका थिए—सामाजिक सञ्जाल खोल्नुपर्छ र भ्रष्टाचार रोक्नुपर्छ। तर सरकारका नेताहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै वास्तविक आवाजलाई बदनाम गर्ने प्रयास गरे। घुसपैठ भए पनि नागरिकको सुरक्षा राज्यकै जिम्मेवारी थियो, तर त्यो जिम्मेवारीबाट पनि सरकार चुकेको छ।दमनपछि मुलुकभर शोक छाएको छ। निजी विद्यालयहरूले दुःख प्रकट गर्दै दुई दिन शोक बिदा दिएका छन्। प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर कर्फ्यु वा शोक बिदाले यो घाउ निको पार्दैन।
आज नयाँ पुस्ताको रगत सडकमा पोखिएको छ। यो रगत केवल आँकडामा सीमित छैन, यो मुलुकको इतिहासमा अमिट दाग बनेको छ। अब प्रधानमन्त्री ओलीको नैतिक आधारमा पद टिकाइराख्ने हैसियत गम्भीर प्रश्नमाथि छ। यस देशका युवाले मागेको कुरा ठूला राजनीतिक नारामात्र होइन, सामान्य स्वतन्त्रता, न्याय र पारदर्शिता हो। त्यसलाई बन्दुकले दबाउने प्रयास गरेको मूल्य नेपालले अझै चुकाइरहनुपर्नेछ।









