मकवानपुर । भदौ २४ गते देशैभरि भएको तथाकथित ‘जेनजी आन्दोलन’का क्रममा मकवानपुर जिल्लामा भएका चोरी, लुटपाट तथा सार्वजनिक सम्पत्तिमा क्षतिको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सार्वजनिक अनुरोध जारी गरेको छ।
प्रहरीको अनुसार, आन्दोलनको आडमा विभिन्न व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका अन्य प्रहरी चौकीहरू, सरकारी तथा गैरसरकारी कार्यालयहरू, भाटभटेनी सुपरमार्केट जस्ता व्यापारीक प्रतिष्ठानहरू, व्यक्तिगत पसलहरू लगायत स्थानहरूबाट जिन्सी सामग्री, प्रहरी पोशाक, असलाभ्य सामग्रीहरू, सवारी साधनहरू लगायत अन्य सरकारी तथा व्यक्तिगत सम्पत्ति चोरी, लुटपाट वा डकैती गरेका घटनाहरू देखिएको जनाइएको छ।
प्रहरीले यस्ता सम्पत्तिहरू फिर्ता गर्न सबैलाई अपिल गरेको छ। चोरी वा लुटपाटमा संलग्न व्यक्तिहरूले आफैं वा तेस्रो पक्षमार्फत ती सामग्रीहरू नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यथाशिघ्र फिर्ता गर्न अनुरोध गरिएको छ।
यदि फिर्ता नगरेमा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
त्यस्तै, प्रहरीले घटनासँग सम्बन्धित फोटो वा भिडियो फुटेजहरू भएमा अनुसन्धानमा सहयोग पुर्याउने गरी dpomakwanpurcdr@gmail.com मा पठाइदिन पनि अपिल गरेको छ। यस्ता जानकारी दिने व्यक्तिहरूको नाम, थर, ठेगाना पूर्ण गोप्य राखिने प्रहरीले जनाएको छ।
सार्वजनिक सुरक्षालाई ख्याल गर्दै प्रहरी कार्यालयले सम्पूर्ण नागरिकलाई संयमित र जिम्मेवार बन्न आह्वान गरेको छ।









