हेटौंडा । हेटौंडा –५ स्थित माँ अन्जनी किराना पसलमा बिक्री भइरहेको रहरको दालमा शंकास्पद वस्तु फेला परेपछि दालको बिक्री वितरण तत्काल रोक लगाइएको छ।
चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा पसलमा राखिएको २५ किलोको दालको बोराभित्र कपडाले बेरिएको अवस्थामा सानो पोको फेला परेको हो, जुन केमिकल जस्तो देखिएको छ। सो दाल वीरगन्जस्थित ऊ ट्रेडिङबाट आयात गरिएको हो। प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार, दालको बोराभित्र भेटिएको पोको विषादी भएको आशंका गरिएको छ।
अनुगमनका क्रममा १८ बोरा मध्ये दुईवटा सिलप्याक खोल्दा यस्तो शंकास्पद वस्तु भेटिएको हो। कुल ३० बोरा दालमध्ये १२ बोरा बिक्री भइसकेको पसल सञ्चालकले जानकारी दिएका छन्। हाल बाँकी सबै दाल सील गरिएको छ।
प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पंकज दाहालका अनुसार, कपडामा बेरिएको उक्त पोको के हो भन्नेबारे परीक्षण गर्न बाँकी छ। पसललाई तीन दिनभित्र दाल खरीदसम्बन्धी बिल पेश गर्न निर्देशन दिइएको छ।
यसैबीच, मंगलबार हेटौंडाका विभिन्न स्थानमा गरिएको बजार अनुगमनमा कान्तिलोकपथ, भैरवरोड क्षेत्रका ८ वटा किराना, डेरी र मिठाई पसलहरूमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा बालाजी ट्रेड लिंकबाट म्याद नाघेको ग्लुकोज, दालमोठ, सुजीको पिठो जस्ता खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ। त्यस्तै, शुभम किराना एण्ड कोल्ड स्टोरबाट म्याद सकिएका नमकिन र गरम मसला पनि जफत गरी नष्ट गरिएको खाद्य अधिकृत दाहालले जानकारी दिए।
अनुगमन टोलीले मुक्तिनाथ डेरीलाई तीन दिनभित्र कारोबारअनुसार व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।









