सोमबारदेखि आश्विन शुक्ल प्रतिपदाका दिनसँगै दुर्गापक्ष अर्थात् नवरात्र सुरु भएको छ। दशैं पर्व पनि यिनै दिनदेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म धूमधामका साथ मनाइने परम्परा रहिआएको छ।
यसपालि नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमीको शुभ साइत असोज १६ गते बिहिवारका दिन बिहान ०९ बजेर २३ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
बडादशैँ दुर्गा भवानीको कृपा प्राप्त गर्न विजयादशमी विशेष महत्त्वका साथ मनाइन्छ। शुद्ध माटो र गोबरले दशैँघर शुद्ध पारेर शुभमुहूर्तमा घटस्थापना गर्ने, सप्तधान्य छर्ने र नौ दिनसम्म दुर्गा भवानीका विभिन्न रूपहरूको पूजा आराधना गर्ने शास्त्रीय परम्परा रहिआएको छ। देवीभागवतमा वर्णन भएअनुसार दशमीका दिन लगाइने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने विश्वास छ।
शास्त्रअनुसार वर्षमा चारवटा नवरात्र हुने उल्लेख पाइन्छ—आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्ल। यीमध्ये आषाढ र माघका नवरात्र साधकहरूका लागि उपयुक्त हुने बताइन्छ भने आश्विन र चैत्रका नवरात्र आम श्रद्धालुका लागि विशेष फलदायी हुने उल्लेख गरिएको छ।
नवरात्रका नौ दिन : कुन दिन कुन देवीको पूजा गर्ने?
नवरात्रमा शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नवदुर्गाको क्रमशः पूजा गरिन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीलाई विशेष आराधना गरिन्छ।
-
पहिलो दिन (शैलपुत्री) : दीर्घरोग नाश तथा लामो आयुकालका लागि पूजा गरिन्छ। गाईको घ्यूबाट बनेको प्रसाद अर्पण शुभ मानिन्छ।
-
दोस्रो दिन (ब्रह्मचारिणी) : बन्धन वा अवरोध नाशका लागि पूजा गरिन्छ। सख्खर चढाएर आराधना गर्दा सबै प्रकारका अरिष्ट हट्ने विश्वास छ।
-
तेस्रो दिन (चन्द्रघण्टा) : दुःखकष्ट नाशका लागि पूजा गरिन्छ। गाईको दूधबाट बनेको परिकार अर्पण गर्दा आशीर्वाद प्राप्त हुने मान्यता छ।
-
चौथो दिन (कुष्माण्डा) : ज्ञान र वाणीको अभिवृद्धिका लागि पूजा गरिन्छ। मालपुवा अर्पण तथा दान गर्नु शुभ हुने विश्वास छ।
-
पाँचौं दिन (स्कन्धमाता) : व्यापार, व्यवसाय र सेवामा प्रगति तथा रोजगारीका लागि पूजा गरिन्छ। केराको भोग लगाउँदा सफलता प्राप्त हुने भनाइ छ।
-
छैटौं दिन (कात्यायनी) : आकर्षण र विवाह सफलताका लागि पूजा गरिन्छ। मह अर्पण गरी पूजा गर्दा अविवाहितको विवाहमा आउने अवरोध हट्ने विश्वास छ।
-
सातौं दिन (कालरात्री) : दुर्घटना र मुद्दा मामिलाबाट मुक्ति पाउन पूजा गरिन्छ। सख्खर दान गरेमा आकस्मिक विपत्तिबाट रक्षा हुने शास्त्रीय मान्यता छ।
-
आठौं दिन (महागौरी) : सन्तान सुख तथा शान्तिका लागि पूजा गरिन्छ। नरिवल अर्पण गर्दा सम्पूर्ण सुखशान्ति प्राप्त हुने विश्वास छ।
-
नवौं दिन (सिद्धिदात्री) : अकाल मृत्यु नाशका लागि पूजा गरिन्छ। घ्यू चढाएर र पायस (खिर) अर्पण गर्दा कार्यसिद्धि हुने भनाइ छ।
यसरी घटस्थापनादेखि नवमीसम्म निरन्तर पूजा आराधना गरी सप्तधान्य बढ्दै गए भगवती प्रशन्न हुने धार्मिक विश्वास रहेको छ।










