हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर’ बालगृहअगाडि गएको आइतबार फेला परेकी नवजात शिशु (छोरी)को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
आइतबार दिउँसो १ बजे भेटिएकी नवजात शिशुलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालको नवजात शिशु सघन कक्ष (एनआइसियु) मा राखिएको छ।
उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार शिशुको अवस्था अति नाजुक भए पनि उपचारपछिको प्रतिक्रिया सकारात्मक देखिएको छ।
अन्दाजी १२ दिनको शिशु कुपोषित र अत्यन्त कमजोर अवस्थामा फेला परेकी थिइन्। तौल मात्र ७५० ग्राम रहेको शिशुको स्वास्थ्यमा सुधार आइरहेको सेफ हाउस सेवा केन्द्र प्रमुख बिन्दा बर्तौलाले जानकारी दिइन्। उनका अनुसार हालसम्म शिशुको तौलमा १८ ग्रामको वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नवजात शिशु बेवारिसे अवस्थामा फेला परेकी शिशुको अभिभावकको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार अभिभावकको खोजी कार्य जारी छ।










