हेटौंडा । शनिबार हेटौंडा उपमहानगरपालिका–१० स्थित क्षेत्रबाट जुवातास खेलीरहेको अवस्थामा ११ जना व्यक्तिहरूलाई ११ बुक तास र नगद रु. ६ लाख ६ हजार ३१० सहित पक्राउ गरिएको छ। पक्राउपछिको अनुसन्धानक्रममा दुई जना व्यक्तिहरू लामो समयदेखि फरार रहँदै आएका गम्भीर प्रकृतिका अपराधहरूमा संलग्न रहेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हेटौंडा–१० निवासी ३७ वर्षीय अर्जुन तामाङ भनिने विजय तामाङ जिल्ला अदालत सिन्धुपाल्चोकबाट मिति २०७४।०४।११ गते जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद सजायको फैसला भई फरार रहेका थिए।
त्यस्तै, मकवानपुर बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल भनिने हेमन्त परियारमाथि चोरी तथा डाँका सम्बन्धी पाँचवटा मुद्धा दर्ता रहेका छन्। ती मुद्धाहरू जिल्ला प्रहरी कार्यालय मकवानपुर (मिति २०८१।०४।१६ र २०८१।०९।१९), जिल्ला प्रहरी परिसर ललितपुर (२०८१।०८।३०), र प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं (२०८१।०९।१४) मा दर्ता भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै ११ जनालाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ भने फरार अभियुक्तहरूको पहिचान खुलेपछि सम्बन्धित मुद्धाहरूमा समेत कारवाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।









