हेटौंडा । हेटौंडा–१७ हटिया लक्ष्मिपुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालय शिवम सिमेन्ट उद्योगबाट निस्कने धुलो–धुवाँ र तीव्र कम्पनयुक्त आवाजका कारण वर्षौंदेखि गम्भीर समस्यामा परेको छ। विद्यालय भवनबाट केवल ९८ मिटरको दूरीमा रहेको शिवम सिमेन्ट उद्योगले विद्यालयका २६९ विद्यार्थी तथा आसपासका बासिन्दाको स्वास्थ्य र पठन–पाठन वातावरणमा गम्भीर असर पारेको स्थानीयले गुनासो गरेका छन्।
विद्यालयका प्रधानाध्यापक यादुदेव उपाध्याय सिग्देलका अनुसार उद्योगले बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नगर्ने, उल्टै आवाज उठाउनेहरूलाई धम्की र कुटपिटका जोखिम रहने अवस्था बनेकाले मौन बस्न बाध्य भएको हो।
उनी भन्छन्, “धुवाँ–धुलो निस्किँदैन भन्दै आश्वासनमै उद्योग चल्यो, तर १४ वर्ष बितिसक्दा पनि धुलो व्यवस्थापन कागजमै सीमित छ।”
प्रधानाध्यापक सिग्देल २०४६ सालमा स्थापना भएको विद्यालयमा २९ वर्षदेखि पढाइरहेका छन्। २०७२ सालदेखि प्रधानाध्यापक बन्नुभएको उहाँले वर्षौँसम्म माग गर्दा पनि समस्या नटुंगिएपछि आफूहरू निराश भएको सुनाए।
शिवम सिमेन्ट सञ्चालनमा आएसँगै हेटौंडा–१६ र १७ का स्थानीयवासी पनि नराम्ररी प्रभावित भएका छन्।
स्थानीयका अनुसार निरन्तर उड्ने धुलोका कारण धेरैलाई फोक्सो, मुटु र छातीसम्बन्धी रोग देखिन थालेको छ। साथै बारीमा तरकारी खेती गर्ने अवस्था छैन।
उद्योगलाई जमीन उपलब्ध गराउने स्थानीय आज पछुतो मानिरहेका छन् ।
एक स्थानीय भन्छन्,“हामीले खुशी भएर जग्गा दियौँ, तर आज बाँच्न मुस्किल भएको छ। धुलो–धुवाले घर–घर, बालबालिका, खेत सबै बिग्रिए। अब बोल्दा पनि सुनिदैन, उल्टै डर लाग्छ।”
स्थानीयहरूका अनुसार शिवम सिमेन्टले पटक–पटक धुलो व्यवस्थापन छिटै गर्छौँ भनेर आश्वासन दिए पनि व्यवहारमा काम नगर्ने गरेको छ।
उनीहरू भन्छन्— उद्योगले स्थानीय प्रतिनिधि र द्वन्द्व समाधानकर्तालाई “झुक्याउने र समयमै समस्या समाधान नगर्ने” रणनीति अपनाएको छ।
समस्या लगातार गहिरिँदै गएको सूचनासँगै सेवा, सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष विशालराज महत तथा सञ्चारकर्मीहरूको टोली बिहीबार घटनास्थल पुगेको थियो।
समस्या प्रत्यक्ष सुनेपछि महतले स्थानीय तहदेखि उच्च निकायसम्म दबाब दिने र आवश्यक परे माथिल्लो तहसम्म फैसलाका लागि पहल गर्ने बताए ।
उनी भन्छन् ,“सिमेन्ट उद्योग वातावरणमैत्री बन्नैपर्छ। धुलो–धुवालाई भित्रै व्यवस्थापन गरेर स्थानीयको स्वास्थ्य र शिक्षा वातावरण सुरक्षित बनाउने जिम्मेवारी उद्योगकै हो।”
महतले यसअघि पनि केही स्थानीयसँगै उद्योग र स्थानीय तहलाई ध्यानाकर्षण गराएका थिए। तर समस्या झनै जटिल बन्दै गएर प्रभाव अझै बढेको गुनासोपछि उनी फेरि सक्रिय भएका छन् ।
विद्यार्थीहरू धुलोले मास्क लगाएर पढ्न बाध्य छन्। अभिभावक र स्थानीय घर–घरमा धुलो पुछेर थाक्छन्। खेतिहरूमा उत्पादन न्यून हुँदैछ।
स्थानीय भन्छन्—“हामीलाई बाँच्ने अधिकार छ। शिवमले जिम्मेवारी लिनैपर्छ।”
शिवम सिमेन्टको धुलो–धुवाँ प्रदूषणले हेटौंडा–१७ र १६ आसपासका बासिन्दा तथा विद्यालयमा परेको दीर्घकालीन असर अब गम्भीर मोडमा पुगेको छ। वर्षौँदेखि उठाउँदै आएको आवाज बेवास्ता भइरहेकाले स्थानीयमा निराशा, आक्रोश र स्वास्थ्य जोखिम दुवै बढ्दै गएको छ।










