एक महिनाकी सुत्केरी राप्ती खोलामा मृत फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ आँपधापमा एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत अवस्थामा फेला परेकी छन्। सुत्केरी बस्न माइती आएकी महिलाको एक महिनाको दूधेबालकलाई छोडेर ज्यान गएको घटनाले सिङ्गो क्षेत्र शोकमा डुबेको छ।

काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–८ स्थायी घर भई हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेस्थित माइती बुवा विष्णु स्याङ्तानको घरमा सुत्केरी बस्न आएकी इन्द्र स्याङ्तानकी श्रीमती ३७ वर्षीया मिलन स्याङ्तान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। उनी एक महिनाको छोरा घरमै छोडेर निस्किएकी बताइएको छ।

परिवारजनले खोजतलास गर्ने क्रममा हिजो दिउँसो करिब १२ बजे माइती घरबाट अन्दाजी ३ किलोमिटर पश्चिमतर्फ पर्ने हेटौंडा–१२ आँपधापस्थित राप्ती खोलामा पानीभित्र डुबेको अवस्थामा उनको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली दिउँसो करिब २ बजे घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो। त्यसपछि शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो। साँझ करिब ७ः३० बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतकका जेठाजु चिजबहादुर तामाङले शव बुझिलिएका छन्।

एक महिनाको दूधेबालक आमाको काखबिनै रहनु परेपछि परिवार मात्र होइन, सिङ्गो बस्ती नै स्तब्ध बनेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.