बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले समेत ह्वीप जारी गरेको छ।
एमाले बागमती प्रदेश संसदीय दलले २७ साउनमा बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई निर्देशन दिएको हो। सोही दिन दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने पनि तय गरिएको छ।
गत २० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले यही साउन २७ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। नेपालको संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) बमोजिम विश्वासको मतका लागि दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो।
मुख्यमन्त्रीको पक्षमा मत दिन नेपाली कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको छ। ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र पक्षमा मतदान गर्ने गरी तीन बुँदे ह्वीप जारी गरेको प्रवक्ता तथा प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।











