हेटौंडा । क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्यालीको आयोजनामा एचआईभी संक्रमित महिलाहरूका लागि सञ्चालन गरिएको क्षमता अभिवृद्धि तालिमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। सोमबार काठमाडौं र मकवानपुरका तालिममा सहभागी महिलाहरूलाई एकै स्थानमा हेटौंडा राखी तालिमको समीक्षा गरिएको हो।
कार्यक्रममा क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्यालीकी उप–प्राध्यापक डा. रिता ढुंगेल र कम्युनिटी कोर्डिनेटर सीता गुरुङको उपस्थिति थियो। सहभागी महिलाहरूले तालिमबाट सिकेका विषय, त्यसको उपयोगिता तथा आगामी दिनमा आवश्यक पर्ने थप कार्यक्रमबारे समीक्षा तथा अनुभव आदान–प्रदान गरेका थिए।
गत साउन ५ गते हेटौंडा–१५ स्थित महिला जनशक्तिको सभाहलमा महिला उत्थान समाजको अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा एचआईभी संक्रमित महिलाहरूको सशक्तिकरण र क्षमता विकाससम्बन्धी पाँचदिने तालिम आयोजना गरिएको थियो। उक्त तालिममा १५ जना महिलाको सहभागिता रहेको थियो। यसैगरी काठमाडौंमा ३० जना र मकवानपुरमा १५ जना गरी कुल ४५ जना महिलालाई तालिम प्रदान गरिएको थियो।
तालिममा प्रेरणादायी सत्र, मनोसामाजिक परामर्श, वित्तीय परामर्श, शारीरिक तथा मानसिक स्वास्थ्य, नेतृत्व विकास, पत्रकारको भूमिका, कार्यक्रम समीक्षा, अनुभव आदान–प्रदान तथा शिक्षा सम्बन्धी विषयवस्तु समेटिएको थियो।
डा. ढुंगेलका अनुसार करिब तीन वर्षअघि मकवानपुरमा गरिएको पूर्व–परीक्षण तथा कार्यक्रम मूल्यांकनका क्रममा एचआईभी पोजेटिभ महिलाहरूले समाजमा खुलेर बोल्न र नकारात्मक सामाजिक व्यवहारको सामना गर्न थप तालिम आवश्यक रहेको सुझाव दिएका थिए। सोही आवश्यकताका आधारमा यो तालिमको व्यवस्था गरिएको उनले जानकारी दिइन्।
समीक्षा कार्यक्रमकै क्रममा आर्थिक सशक्तिकरणसँग जोडेर अचार बनाउने तालिमको प्रस्ताव सहभागीबाट आएपछि उक्त तालिम पनि प्रदान गरिएको ढुंगेलले बताइन्।
तालिममा सहभागी महिलाहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। समाजमा बाँच्न र आत्मविश्वासका साथ अगाडि बढ्न तालिमले ठूलो हौसला दिएको उनीहरूको भनाइ थियो। यद्यपि, विदेशी सहयोगबाट आउने बजेटमा कमी आएपछि केही निराशा छाएको उल्लेख गर्दै आगामी दिनमा थप बजेट व्यवस्थाका लागि आग्रह समेत गरिएको थियो।
सहभागीहरूका अनुसार समाजको नकारात्मक व्यवहारका कारण हतोत्साहित भइरहेका बेला पाँचदिने तालिमले समाजसँग लडेर बाँच्ने हिम्मत र शक्ति प्रदान गरेको छ। निराश जीवन बिताइरहेकाहरूलाई उज्यालो भविष्यतर्फ डोर्याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको निष्कर्ष थियो।










