राक्सिराङ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकट क्षेत्रको विकास संघीयता र गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशन तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले संघीयतापछि राक्सिराङजस्ता दुर्गम गाउँपालिकामा पूर्वाधार विकासले तीव्रता पाएको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले राक्सिराङ गाउँपालिकामा सडक विस्तार, पुल निर्माण र अन्य भौतिक पूर्वाधारमा लगानी गरिरहेको जानकारी दिँदै आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाए। मनहरीबाट परेवाभीर हुँदै मलेखु निस्कने सडकलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाइने पनि उनले बताए।
उनले स्थानीय स्तरमै उत्पादन हुने कृषि उपज र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको स्पष्ट पारे। विदेशबाट आयात हुने वस्तु न्यूनिकरण गर्दै स्थानीय स्रोत र साधनमा आधारित उत्पादनलाई ब्राण्डिङ गरी बजार विस्तार गर्ने योजना सरकारको रहेको मुख्यमन्त्री बानियाँको भनाइ थियो। कोदो, मकै, किबी, गिट्ठा जस्ता अन्न तथा फलफूलमा आधारित घरेलु उत्पादनलाई व्यवस्थित गरी रोजगारी र आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको उनले बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलगायतले राक्सिराङको विकासका लागि प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
गाउँपालिका अध्यक्ष राज कुमार मल्लको सभाध्यक्षतामा कार्यक्रम भएको थियो।










