प्रारम्भिक बाल विकास र अभिभावकको जिम्मेवारी

नेपाल जस्तो विकासोन्मुख मुलुकमा मानव विकासको आधार तयार गर्ने सबैभन्दा महत्वपूर्ण चरण प्रारम्भिक बाल्यावस्था हो । गर्भावस्थादेखि आठ वर्षसम्मको समय बालबालिकाको जीवनको संवेदनशील अवधि हो । यस अबधिमा उनीहरूको भविष्यको दिशा निर्धारण हुने गर्दछ । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्ये ११ वटा लक्ष्य प्रत्यक्ष रूपमा प्रारम्भिक बालविकास सँग सम्बन्धित हुनु आफैंमा यस क्षेत्रको महत्वको स्पष्ट प्रमाण हो । यसै सन्दर्भमा, राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको “प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८” ले सबै बालबालिकाको सर्वाङ्गिण विकास सुनिश्चित गर्दै सक्षम र दक्ष मानव स्रोत निर्माण गर्ने दूरदृष्टि अघि सारेको छ । यो रणनितीलाई एनसिई नेपाल र युनिसेफ लगायतको संस्थाहरुले प्रबर्धन र सेतो गुरासले कार्यान्वयन समेत गर्दै आईरहेका छन् । नेपालको संविधान २०७२ ले समेत प्रारम्भिक बालविकासलाई बालबालिकाको मौलिक हकका रूपमा स्थापित गरेको छ, जसले राज्यको दायित्वलाई थप स्पष्ट बनाएको छ ।
प्रारम्भिक बालविकासको मुख्य उद्देश्य गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकालाई आवश्यक स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण तथा प्रारम्भिक सिकाइका अवसरहरू प्रदान गर्नु हो । तर यी अवसरहरूको प्रभावकारी उपयोग अभिभावकको सकृय सहभागिता र सही मार्गदर्शन बिना सम्भव हुँदैन भन्ने प्रमाणित भईसकेको छ । यसै कारण प्रारम्भिक बालविकास केन्द्रहरूमा अभिभावक शिक्षालाई अत्यन्त महत्वपूर्ण पक्षका रूपमा लिईएको छ र लिइनु पनी पर्दछ ।
बालबालिकाको जीवनको पहिलो आठ वर्ष दिमागको तीव्र विकास हुने संवेदनशील समय हो । यही अवधिमा नै न्युरोनहरूबीच सम्बन्ध बलियो बन्छ र सिकाइको आधार तयार हुन्छ । प्रारम्भिक बाल विकास केन्द्रमा अभिभावक शिक्षाले घर र विधालयबीच सहकार्य बढाउँदै सकारात्मक पालनपोषण गर्न सिकाईन्छ । मायाममता, संवाद र खेलमार्फतको सिकाइले बालबालिकाको भावनात्मक र संवेगात्मक विकास सुदृढ हुन्छ, आत्मविश्वास बढ्छ र सामाजिक व्यवहार सुधारिन्छ भन्ने मान्यता रहेको छ । उचित पोषण, स्वास्थ्य हेरचाह र हिंसामुक्त वातावरणले दिमागको विकासलाई थप सशक्त बनाउँने गर्दछ । यदि बालबालिकाले मायाममता, सुरक्षा, प्रोत्साहन र सकारात्मक वातावरण पाए भने उनीहरूको दिमागको विकास बलियो र गतिलो हुनेछ । तर हिंसा, उपेक्षा, कुपोषण वा असुरक्षित वातावरणले दिमागको विकासमा गम्भीर नकारात्मक असर पार्ने गर्दछ । त्यसैले अभिभावक शिक्षा समग्र विकासको आधारस्तम्भ हो भनेर भन्ने गरिएको हो । जब अभिभावकहरूलाई बालबालिकाको दिमाग कसरी विकास हुन्छ भन्ने ज्ञान हुन्छ, तब मात्र उनीहरूले घरमै बालमैत्री वातावरण सिर्जना गर्ने गर्दछन् । बालबालिकासँग नियमित संवाद गर्ने, कथा सुनाउने, खेल्ने, गीत गाउने र उनीहरूको जिज्ञासा सम्बोधन गर्ने जस्ता क्रियाकलापहरूले मस्तिष्कको विकासलाई तीव्र बनाउँछन्। यसले बालबालिकामा सिकाइप्रति रुचि बढाउँछ र उनीहरूको बौद्धिक क्षमता विकास गर्न मद्दत पुर्याउदछ ।
भावनात्मक र संवेगात्मक विकास पनि प्रारम्भिक बाल्यावस्थामा अत्यन्त संवेदनशील हुन्छ । बालबालिकाले आफ्नो भावना कसरी व्यक्त गर्ने, अरूसँग कसरी व्यवहार गर्ने, र सामाजिक सम्बन्ध कसरी निर्माण गर्ने भन्ने कुरा यही समयमा सिक्ने गर्दछन् । यदि बालबालिकाले प्रेम, सम्मान र सुरक्षा अनुभव गर्छन् भने उनीहरू आत्मविश्वासी, सकारात्मक र सहकार्य गर्ने स्वभावका बन्ने हुन्छन । तर डर, हिंसा वा उपेक्षामा उनिहरु हुर्किएमा उनिहरुमा आत्मविश्वासको कमी, आक्रोश वा सामाजिक असहजता देखिन सक्दछ ।
अभिभावक शिक्षाले अभिभावकलाई सकारात्मक पालनपोषणका तरिकाहरू सिकाउँदछ । बालबालिकालाई कराउने, धम्क्याउने वा दण्ड दिने भन्दा पनि उनीहरूको भावना बुझ्ने, उनीहरूसँग सहानुभूति राख्ने र प्रोत्साहन गर्ने अभ्यास गराइन्छ । यसले बालबालिकामा भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्दछ। साथै, अभिभावक र बालबालिकाबीचको सम्बन्ध बलियो बनाउँछ, जुन दीर्घकालीन विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।
संवेगात्मक विकाससँगै सामाजिक व्यवहारको विकास पनि जोडिएको हुन्छ । प्रारम्भिक बालविकास केन्द्रहरूले बालबालिकालाई समूहमा खेल्ने, सहकार्य गर्ने, पालो कुर्ने, बाडेर खाने र साझा गर्ने जस्ता सामाजिक सीपहरू सिकाउँछन् । जब अभिभावकहरू पनि यस प्रकृयामा सहभागी हुन्छन्, तब मात्र बालबालिकाले घर र विधालय दुवै स्थानमा समान सन्देश प्राप्त गर्दछन । यसले उनीहरूको व्यवहारमा निरन्तरता र स्थायित्व ल्याउँछ ।
स्वास्थ्य र पोषण प्रारम्भिक बालविकासका आधारभूत पक्षहरू हुन् । उचित पोषणले दिमागको विकासलाई सुदृढ बनाउँछ भने नियमित स्वास्थ्य हेरचाहले बालबालिकालाई रोगबाट जोगाउँने गर्दछ । अभिभावक शिक्षाले सन्तुलित आहार, स्तनपान, खोप, सरसफाइ र स्वास्थ्य सेवाको महत्वबारे जानकारी दिलाईन्छ जसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई मजबुत बनाउँन मद्धत पुर्याउदछ ।
नेपाल सरकारले संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास पाउने र सहभागिता जनाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यी अधिकारहरूको व्यवहारिक कार्यान्वयनमा अभिभावक शिक्षाले महत्वपूर्ण योगदान पु¥याउँदछ । सचेत अभिभावकले मात्र बालबालिकाको अधिकारको रक्षा गर्दै उनीहरूको समग्र विकासमा योगदान दिन सक्ने हुन्छन् ।

सार्बजनिक शिक्षाको सुदृढिकरण गर्दै गुणस्तरिय शिक्षाको वबालत गर्ने राष्ट्रियको संजालको रुपमा स्थापित शिक्षाका लागि राष्ट्रिय अभियानले प्रारम्भिक बालविकास केन्द्रहरूलाई केवल बालबालिकाको सिकाइको केन्द्र मात्र नभई अभिभावक सशक्तीकरणको केन्द्रका रूपमा पनि विकास गर्नुपर्दछ भन्ने मान्यता राख्दै अभिभावक शिक्षालाई संस्थागत रूपमा मजबुत बनाउँदै समुदायस्तरमा व्यापक विस्तार गर्न आवश्यक छ भन्ने मान्यतालाई आत्मसाथ गरेको छ । यसले “प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८”लाई मुर्त रुपमा कार्यान्वयनमा ल्याउन सरकार संग सहकार्य गर्दै अझ बढि कृयाशिल हुन पर्ने देखिन्छ ।
अन्त्यमा, प्रारम्भिक बालविकासमा अभिभावक शिक्षा समग्र विकासको आधारस्तम्भ हो भन्नुमा अत्युक्ति नहोला । दिमागको तीव्र विकासक्रम, भावनात्मक र संवेगात्मक संवेदनशीलता तथा स्वास्थ्य र पोषणका आवश्यकताहरूलाई सम्बोधन गर्न अभिभावकको सकृय भूमिका अपरिहार्य छ । त्यसैले राज्य, समुदाय र सरोकारवाला सबैले अभिभावक शिक्षालाई प्राथमिकतामा राख्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ । यसमार्फत मात्र हामी सक्षम, दक्ष र जिम्मेवार नागरिक निर्माण गर्दै समृद्ध राष्ट्रको आधार तयार गर्न सक्नेछौ ।

(प्रकाश खतिवडा बाल कल्याण समाज,मकबानपुर तथा शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेश का अध्यक्ष हुन्, समसामयीक विषयमा कलम चलाउछन् ।-सम्पादक)

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.