समाजको वास्तविक प्रगतिको मापन केवल भौतिक विकास, पूर्वाधार विस्तार वा आर्थिक वृद्धिदरले मात्र हुँदैन । कुनै पनी समाज कति सभ्य, न्यायपूर्ण र मानवीय छ भन्ने कुरा त्यहाँका महिलाले कति सुरक्षित, सम्मानित र समान अवसर पाएका छन् भन्ने आधारमा आँकलन गर्न सकिन्छ । आज पनि महिलामाथि हुने घरेलु हिंसा, यौन हिंसा, मानसिक यातना, आर्थिक शोषण, बालविवाह, मानव बेचबिखन जस्ता घटनाहरू हाम्रो सामाजिक संरचनाको कठोर यथार्थ हुन् भन्ने स्पष्ट देखिएको छ । यी समस्याहरूको स्थायी समाधान खोज्दा लैङ्गिक समानता र सामाजिक समावेशीकरण बिना महिला हिंसा अन्त्य सम्भव छैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
लैङ्गिक समानता भन्नाले महिलाले पुरुषसरह शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्ति, निर्णय प्रक्रियामा सहभागिता र सम्मान पाउनु भन्ने हो । जब महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरि उनीहरूको आवाज दबाईने गरिन्छ, अवसरहरू सीमित गरिन्छन्, त्यहीँबाट हिंसाको जरा फैलिन थाल्दछ । पितृसत्तात्मक सोचले महिलालाई परनिर्भरता, कमजोर र घरभित्र सीमित रहने पात्रका रूपमा चित्रण गर्ने गर्दछ । यसले पुरुषप्रधान मानसिकतालाई वैधता दिन्छ र हिंसालाई सामान्य व्यवहारजस्तै देखाउने गर्दछ । तसर्थ समान अवसर, समान व्यवहार र समान सम्मानले मात्र यस्तो सोचलाई चुनौती दिन सक्दछ ।
सामाजिक समावेशीकरणले समाजका सबै वर्ग, जाति, भाषा, क्षेत्र र पहिचानका महिलालाई बराबरी स्थान दिनेछ । दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका, गरिब तथा दुर्गम क्षेत्रका महिलाहरू अझ बढी हिंसाको जोखिममा भएको पाईन्छ । यदि नीति, योजना र कार्यक्रमहरू उनीहरूको यथार्थ आवश्यकता अनुसार बन्न नसके समानताको नारा व्यवहारमा रूपान्तरण हुन सक्दैन । समावेशी दृष्टिकोणले मात्र आबाज बिहिन महिलाको आवाज नीतिनिर्माणमा पुग्न सक्दछ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुन जानेछ ।
शिक्षा महिला हिंसा अन्त्यको शक्तिशाली आधार हो भन्ने प्रमाणित भईसकेको छ । शिक्षाले चेतनाको अभिबृद्धि गर्दै, आत्मविश्वास बढाउँदै, अधिकारबारे जानकारी गराउदै आत्मनिर्भर बन्न सहयोगी भुमिका निर्बाह गर्ने गर्दछ । शिक्षित महिला अन्यायविरुद्ध बोल्न, प्रतिरोध गर्न र न्याय खोज्न सक्षम भएको यत्रतत्र देख्न सकिन्छ । समाजमा लैगिंक हिंसा बिरुद्ध सहकार्य गर्न महिलाको साथसाथै पुरुष र बालकहरूलाई पनि लैङ्गिक समानताबारे शिक्षित गर्नु अत्यन्त आवश्यक देखिएको छ । लैगिंक समानताको लागी पुरुषको पितृसत्तात्मक सोचमा सकारात्मक रुपान्तरण आबश्यक हुन्छ ।
नबिनतम मान्यताको आधारमा समाजले लामो समयदेखि पुरुष कस्तो हुनु पर्दछ भन्ने अपेक्षा निर्माण गरेको हुन्छ । एकथरि बिषक्त पुरुषत्वको नाममा पुरुषहरु देखिन्छन जसले स्वयं पुरुष, महिला र बालबालिकाहरुलाई नकारात्मक असर पुर्याईरहेका हुन्छन् । बिषाक्त पुरुषत्व भएको पुरुषले सदा महिलालाई नियन्त्रणमा राख्नु पर्छ, आफु बलियो हुनु पर्छ, रुनु हुुदैन भन्ने जस्ता धारणा बलियो बनाएर राखेका हुन्छन् जसले हिंसा, दमन र असमानतालाई पक्षपोषण दिई रहेका हुन्छन् । यसको बिपरित हामीले हाम्रो समाजमा सकारात्मक पुरुषत्वको अपेक्षा गरिरहेका हुन्छौ । सकारात्मक पुरुषत्वले सम्मान, समानता, संबेदनशिलता र जिम्मेबारीलाई प्राथमिकतामा राख्दै महिलाको अधिकार र समानतालाई समर्थन गर्न, अहिंसात्मक ब्यबहार अपनाउन, महिलालाई पहुच र समान जिम्मेबारी लिन प्रेरित गर्ने गर्दछ । बिशेष गरि पुरुषत्वलाई प्रभुत्व नभई सहकार्य, सम्मान र सहअस्तित्वको आधारमा महिला प्रति ब्यहार गरिनु पर्दछ भन्ने अबधारणाको बिकाश आजको आबश्यकता हो ।
बाल बिबाहको अन्त्य एबं लैगिंक समानताको सबालमा मेन इङ्गेजको अवधारणा अत्यन्त महत्वपूर्ण कडिको रुपमा देखिएको छ । बालबिबाह हुनु बालिकाको मानब अधिकारको दृष्टिकोणले लैगिंक अन्याय हो । बालबिबाह अन्त्य हुन लैगिंक रुपान्तरणकारी पद्धती र बहुक्षेत्रीय अबधारणामा सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य देखिएको छ । लैगिंक न्यायको स्थापना र महिला हिंसा अन्त्यको अभियानमा पुरुषको जिम्मेवारी बृद्धि हुन पर्दछ भन्ने धारणाको बिकाश हुन आबश्यक देखिएको छ । पुरुषलाई परिवर्तनको संवाहक बनाइएन भने समाज रूपान्तरण अधुरो रहन सक्दछ । जब पुरुषले समानता, सम्मान र सहअस्तित्वलाई अंगीकार गर्दछ तबमात्र परिवार र समाज दुवै सुरक्षित बन्न सक्दछ ।
कानुन र नीतिहरू महिला हिंसा रोकथामका महत्वपूर्ण औजार हुन् । तिनीहरू कागजमा मात्र सीमित नभई ब्यबहारमा प्रभावकारी रुपमा लागु हुनु पर्दछ । पीडितमैत्री सेवा, दण्डहीनताको अन्त्य, न्यायमा सहज पहुँच र संवेदनशील कार्यान्वयन आजको आवश्यकता हो । प्रहरी, न्यायालय, स्वास्थ्य संस्था, स्थानीय सरकार लगायत राज्यका सबै संयन्त्रहरू लैङ्गिक उत्तरदायी र समावेशी बन्न सक्नु पर्दछ कानुनको डरभन्दा बढी, न्यायको भरोसा पीडितले महसुस गराउन सक्नु पर्दछ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजमा विभेद, बहिष्करण र हिंसाको उच्च जोखिममा परिरहेको देख्न सकिन्छ । उनीहरूको पहिचान, मर्म र समस्यालाई जरैदेखि बुझेर समाधान खोज्नु आजको आवश्यकता हो । नीतिगत, कार्यक्रमगत र व्यवहारगत तहमा उनीहरूलाई सम्मानजनक स्थान दिनु समावेशी समाज निर्माणको महत्वपूर्ण पक्ष हो । समानता सबैका लागि हुने भएकोले महिला हिंसा अन्त्यको अभियानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दालाई पनि समेट्नुपर्छ भन्ने मान्यताको बिकाश भएको छ । लैगिंक समानताको लागी पुरुषको सार्थक सहभागिता अपरिहार्य देखिएकोले यस तर्फ ध्यान केन्द्रित हुन आबश्यक देखिएको छ ।
लैङ्गिक मैत्री समाज निर्माणमा सरकार र नागरिक समाजबीचको सहकार्य अपरिहार्य देखिएको छ। सरकारसँग नीति, स्रोत र संरचना हुन्छ भने नागरिक समाजसँग समुदायस्तरको पहुँच, विश्वास र सचेतना हुने गर्दछ । यी दुई पक्षबीचको सहकार्यले मात्र लैगिंक समानताको पक्षमा प्रभावकारी कार्यक्रम, जनचेतना र व्यवहार परिवर्तन सम्भव हुने गर्दछ । बिधालय, सञ्चार माध्यम, समुदाय, धार्मिक तथा सामाजिक अगुवाहरू सबैलाई लैगिंक हिंसा बिरुद्धको अभियानमा जोड्दै सकारात्मक सन्देश प्रबाह गरिनु अपरिहार्य देखिएको छ ।
अन्ततः बिषाक्त पुरुषत्व पुरुष बिरोधी अबधारणा नभई हानीकारक सोच र ब्यबहारको आलोचना हो । यसलाई परिबर्तन गरेर समान, सुरक्षित र मानबीय समाजको निर्माण गर्न सकिन्छ । लैगिंक समानता र न्यायपुर्ण समाजको बास्तबिक रुपान्तरण हुन पुरुष स्वयं परिबर्तनको सम्बाहक र असल सहयात्री बन्न आबश्यक देखिन्छ । यसर्थ, महिला हिंसा अन्त्य गर्ने सबैभन्दा दिगो र प्रभावकारी उपाय भनेको लैङ्गिक समानता, सामाजिक समावेशीकरण र मेन इङ्गेजमार्फत समाज रूपान्तरण गर्नु हो । यही मार्गले न्यायपूर्ण, समान, समावेशी र मानवीय समाज निर्माण गर्न सक्दछ । महिला, बालिका वा लैङ्गिक अल्पसंख्यक व्यक्तिले हिंसाको भय बिना सम्मानपूर्वक जीबन बाँच्न पाउने बाताबरण सिर्जना गर्नु आजको आबश्यकता हो ।
प्रकाश खतिवडा
अध्यक्ष
बालिका दुलही होईनन् राष्ट्रिय संजाल नेपाल
(जि.एन.बि नेपाल)











