मकवानपुर । दसैँको अवसरमा मनहरी गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई खसी, खाद्यान्न र प्रशासनिक सामग्री सहयोग गरेको छ। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी लगायत जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई सामग्री हस्तान्तरण गरिएको हो।
गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा र अढाई कार्टुन तेल प्रदान गरेको छ। साथै, कारागारको प्रशासनिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले एउटा प्रिन्टरसमेत प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष कालाखेतीले हरेक वर्षको चाडपर्वमा कैदीबन्दीहरूलाई सहयोग गर्दै आएको जानकारी दिए । उनले भने, “चाडपर्वमा कैदीबन्दीहरूले पनि उत्सवको माहोल अनुभूति गर्न पाउनुपर्छ भन्ने सोचले गाउँपालिकाले यो परम्परा कायम राख्दै आएको हो।”
खाद्यान्न वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा नं. २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नं. ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नं. ६ का अध्यक्ष यादव थपलिया र वडा नं. ७ का अध्यक्ष ठाकुर तितुङको समेत उपस्थिति थियो।
कार्यक्रमका क्रममा जनप्रतिनिधिहरूले गाउँपालिकाका स्थायीवासी करिब ६० जना कैदीबन्दीसँग भेटघाट गर्दै दसैँको शुभकामना आदानप्रदान गरेका थिए।










