नायकेन विना राष्ट्रं न शोभते कदाचन।
यथा नक्षत्रहीनं तु नभः शोभां न गच्छति॥
अर्थात्: जस्तै नक्षत्रविहीन आकाश सुन्दर देखिँदैन, त्यस्तै योग्य नेता बिना राष्ट्र कहिल्यै शोभायमान देखिँदैन। नेतृत्व राष्ट्र वा समूहको शोभा र शक्ति हो। नेता त्यो हो, जो बाटो देखाउँछ मात्र होइन, बाटोमा साथ पनि दिन्छ। नेतृत्व त्यो शक्ति हो, जसले “म” लाई “हामी” मा रूपान्तरण गर्छ। जहाँ सपना साझा हुन्छ, र लक्ष्य सामूहिक यात्रामा परिणत हुन्छ।
साँचो नेता त्यो हो, जो अगाडि मात्र हिँड्दैन, पछाडि फर्केर सबैलाई साथ लिएर अघि बढ्छ। विभिन्न किसिमका नेतृत्व गुणहरू मध्ये केही नेतामा संस्था, देश वा पार्टी बचाउने गुण हुन्छ भने, कहिलेकाहीँ असजिलो परिस्थितिमा यस्ता अद्भुत क्षमता भएका नेताहरू पनि खोज्नुपर्ने हुन्छ, जसले संस्था, देश वा पार्टी निर्माण गर्ने सामर्थ्य राखोस्।
‘बचाउने’ नेतृत्वले संकटको बेला संगठनलाई जोगाउने प्रयास गर्छ, संगठनलाई केवल जीवित राख्छ। नयाँ पुस्ता, नयाँ विचार वा नयाँ आवश्यकताअनुसार परिवर्तन ल्याउँदैन।तर ‘निर्माण/पुनर्निर्माण’ नेतृत्वले संगठनलाई मात्र अस्तित्वमा राख्दैन, पारदर्शिता, जवाफदेहिता र इमानदार कार्यशैलीका साथ समाजका सबै वर्ग — महिला, युवा, जनजाति, दलित र मधेसी — लाई समावेश गर्दै संगठनलाई पारदर्शी र आधुनिक बनाउँछ। यस्तो नेतृत्वले नयाँ पुस्ता र नयाँ विचारसँग जोड्दै नयाँ युग अनुसार दललाई पुनःसंरचना गर्छ र देशको भविष्य निर्माण गर्न सक्ने क्षमता राख्छ।साँचो अर्थमा, **‘बचाउने नेतृत्व’**ले पार्टीको अस्तित्व जोगाउँछ भने, **‘निर्माण गर्ने नेतृत्व’**ले पार्टी मात्र होइन, देशको भविष्य निर्माण गर्छ।
बदलिँदो राजनीतिक परिवेशसँगै आजकल हरेक चोक–चौतारा र चिया पसलमा बाक्लै सुनिन्छ— अब हामीलाई चाहिएको नेतृत्व कस्तो हो?
वर्तमान राजनीतिक परिवर्तनपछि अबको समयमा पार्टीमा केवल अस्तित्व जोगाउने राजनीति मात्र पर्याप्त छैन। अब कांग्रेसमा पुनःनिर्माण गर्ने नेतृत्वको आवश्यकता रहेको छ, जसले पार्टीलाई आधुनिक, समावेशी र पारदर्शी बनाउँदै देशको भविष्य निर्माण गर्न सकोस्।
नेतृत्व केवल पद वा सत्ता पाउने माध्यम होइन, जनताको विश्वास र देशको भविष्य जोगाउने शक्ति हो। पार्टीले विगतमा धेरै पटक केवल बचाउने भूमिका खेलेको भए पनि अब नयाँ पुस्ता र नयाँ सोचका साथ संगठन पुनःनिर्माण गर्न आवश्यक छ।
अब कांग्रेसलाई केवल पुरानो गौरवको कथा सम्झाउने होइन, नयाँ पुस्तालाई अवसर दिने, गुटभन्दा माथि उठेर पारदर्शी र समावेशी बनाउने नेतृत्व चाहिएको छ। युवाहरूलाई केवल नारा दिने होइन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने, भ्रष्टाचार र अवसरवादविरुद्ध कडा कदम चाल्ने र गाउँदेखि केन्द्रसम्म संगठन सक्रिय बनाउने समय आएको छ।
आजको नयाँ पुस्ता, विशेषगरी जेन–जी पुस्ता, पारदर्शिता र जवाफदेहिता खोज्ने चेतनामा जागरूक भइसकेका छन्। उनीहरू केवल आन्दोलनमा होइन, पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी हुन चाहन्छन्। त्यसैले अब पार्टीलाई दूरदर्शी नेतृत्व चाहिएको छ— जसले पार्टी मात्र होइन, देशको सामाजिक र आर्थिक विकासका लागि दीर्घकालीन योजना बनाउन सकोस्।यदि पार्टी केवल बचाउने राजनीतिमा सीमित रह्यो भने युवाहरू वैकल्पिक शक्तितर्फ आकर्षित हुनेछन्, जसले पार्टीको विश्वास र साखमा नकारात्मक असर पार्नेछ। हामीले विगतमा पार्टीलाई बचाउन धेरै योगदान दिएका छौँ। अब आवश्यक छ— बचाउने होइन, निर्माण गर्ने नेतृत्व। सत्ता र स्वार्थभन्दा माथि उठेर देशको भलाइ र जनताको सेवा पहिलो प्राथमिकता हुने नेतृत्व।उदाहरणका लागि, भारतमा महात्मा गान्धीले भारतीय राष्ट्रिय कांग्रेसलाई बचाए, निरन्तर आन्दोलनमा सक्रिय राखे। जवाहरलाल नेहरूले भने सोही पार्टीलाई आधुनिक राज्यको संस्थागत संरचना बनाउँदै निर्माण गरे।हामीलाई थाहा छ, नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाले पार्टी मात्र होइन, देशको विकास र सामाजिक संरचनाको स्पष्ट खाका कोर्न सफल भएका थिए। त्यसपछि धेरै नेताहरूले कांग्रेसलाई केवल बचाए।इतिहासले देखाउँछ— २००७ सालदेखि २०४६ सालसम्म नेपाली कांग्रेसले संघर्ष गर्यो। २०१७ सालको राजाको कू पछि भूमिगत अवस्थामा पार्टीलाई टिकाइराख्ने नेताहरूले ठूलो योगदान दिए। २०४६ सालमा पनि पार्टी बचाइयो, जुन त्यतिबेला आवश्यक थियो।२०४८ सालपछि कांग्रेसले फेरि एकपटक आफैंलाई र देशलाई निर्माण गर्ने अवसर पायो, तर त्यस अवसरलाई अपेक्षित रूपमा उपयोग गर्न सकेन भन्ने जनगुनासो छ। स्वयं गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो जीवनको ऊर्जाशील समय पार्टी बचाउन खर्च गर्नुपर्यो। त्यो समयको आवश्यकता थियो, तर आज परिस्थिती फरक छ।आज हामी केवल कांग्रेस बचाउने नाममा नीति, विधि र सिद्धान्तलाई तिलाञ्जली दिँदै, कहिले कुन र कहिले कम्युनिष्ट दलसँग गर्धन जोडेर निर्वाचनमा गइरहेका छौँ। त्यो राष्ट्रियता र राष्ट्र निर्माणका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि थियो भन्ने स्वीकार गर्न लाज मान्नु हुँदैन।यदि लामो समयसम्म पार्टीहरू केवल अस्तित्व जोगाउने राजनीतिमा सीमित रहिरहे भने, जनताको विश्वास र समर्थन हराउँदै जाने निश्चित छ।अब हाम्रो अपेक्षा बचाउने मात्र होइन, पुनःनिर्माण गर्ने नेतृत्व हो — जसले कांग्रेसलाई २१औँ शताब्दीको दल बनाउन सकोस्। बचाउने मात्र नेतृत्वले पार्टीलाई आधुनिक बनाउन सकेको छैन।नेपाली कांग्रेस मात्र होइन, कुनै पनि दलले यदि केवल पार्टी बचाउने राजनीतिमा सीमित रह्यो भने, भविष्यमा जनताको विश्वास गुमाउने खतरा रहन्छ।
आज आम कार्यकर्ताको मनमा प्रश्न उठेको छ — के केवल अस्तित्व जोगाउनु नै पर्याप्त हो?
अब सत्ताभन्दा माथि, स्वार्थभन्दा माथि, जनताको सेवा र देशको भविष्य प्राथमिक हुनुपर्छ। यदि पुनःनिर्माणकारी नेतृत्व उदय भयो भने हाम्रो पार्टी मात्र होइन, देश पनि पुनर्जीवित हुनेछ।हामी नेपालीलाई हाम्रो लोकतन्त्र र राष्ट्रिय अखण्डताप्रति गहिरो प्रेम र विश्वास छ। हामीले देखेका छौँ— राजनीति कहिलेकाहीँ केवल सत्ता, पद र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ। तर हाम्रो हृदयको आवाज सरल छ — हाम्रो देशको भविष्य सुरक्षित होस्, पार्टीहरू जनताको सेवा गर्न सक्षम हुन्, र नेतृत्व इमानदार र जनमुखी होस्।अब हामीलाई फेरि एकपटक नयाँ विपी चाहिएको छ — विपीको जस्तै आँटिलो, साहसी र धैर्यवान नेतृत्व, जसले कांग्रेसलाई पुनःनिर्माण गरोस्, देश विकासको खाका कोर्न सकोस्, जनतामाझ आशाको रक्तसञ्चार गराउँदै देशलाई सही मार्गमा डोर्याउन सकोस्।
– देवकी गौतम
(गौतम नेपाली कांग्रेस बागमती प्रदेश सदस्य, चितवन)
(उल्लेखित विचारहरू लेखक स्वयंका हुन्।)










