किशोरीको डिम्ब बेचबिखन प्रकरण : होप फर्टिलिटी क्लिनिकका पाँचजनाविरुद्ध बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता
काठमाडौं, साउन ४
किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब (अन्डा) निकालेर कारोबार गरेको आरोपमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका पाँच जनाविरुद्ध बालबालिका ऐन, २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानविरुद्ध बालबालिका ऐनको दफा ६६ अनुसार कारबाही प्रक्रिया अघि बढाएको हो।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डिम्ब निकालिएका दुई किशोरीमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनीहरूले उजुरी दिएका थिए। “महिनावारी बन्द हुनु र पेट दुख्ने समस्याले सताएपछि उनीहरू उजुरी गर्न आएका थिए,” उनले भने, “अनुसन्धानका क्रममा उनीहरूलाई १० हजार रुपैयाँ दिने प्रलोभनमा पारेर डिम्ब निकालिएको खुलेको हो।”
पीडित दुबै किशोरी ‘प्लस टु’ अध्ययनरत विद्यार्थी हुन्। उनीहरूलाई ९–१० दिनसम्म हर्मोन इन्जेक्सन लगाइ शल्यक्रियामार्फत डिम्ब निकालिएको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रवक्ता खड्काका अनुसार जस्टिना प्रधान बिचौलिया बनेर किशोरीहरूलाई क्लिनिकसम्म पुर्याउने र क्लिनिकबाट कमीशन लिने कार्यमा संलग्न रहेको पाइयो। “क्लिनिकहरू किशोरी फकाउन सजिलो हुने भएकाले एजेन्ट राखेर काम गरिरहेका छन्,” उनले भने।
डिम्ब निकाल्दा प्रयोग गरिने औषधिले महिलाको अन्डा सञ्चिति (ओभरियन रिजर्भ) छिटो सकिने, महिनावारी असामान्य हुने र भविष्यमा गर्भधारण गर्न गाह्रो हुने खतरा हुन्छ भन्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन्।डाक्टर कीर्तिपाल सुवेदीका अनुसार महिलाले जन्मजातै सीमित अन्डासहित जन्मिने भएकाले जबरजस्ती डिम्ब निकाल्दा शरीरमा दीर्घकालीन असर पर्न सक्छ। “अन्डा निकाल्ने औषधिले शरीरको प्राकृतिक प्रणालीमा हस्तक्षेप गर्छ,” सुवेदीले भने।
सीआईबीले पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्दा अदालतले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको छ। नेपालमा डिम्बदानसम्बन्धी स्पष्ट कानुनी व्यवस्था, गाइडलाइन र नियमनको अभाव भएकाले कारबाहीमा कानुनी जटिलता देखिएको हो।
यद्यपि, बालबालिका ऐनअन्तर्गतको मुद्दा दर्ता भइसकेको र अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको प्रवक्ता खड्काले बताएका छन्। उनका अनुसार अन्य क्लिनिकहरूलाई पनि निगरानीमा राखिएको छ।
विशेषज्ञहरूका अनुसार अन्डाको गुणस्तर उमेरसँगै घट्दै जाने भएकाले क्लिनिकहरू प्रायः २० देखि २५ वर्षमुनिका युवतीलाई लक्षित गर्छन्। नेपालमा विवाह भएको वा सन्तान भएको नहुनुपर्ने कानुनी खुकुलोपनले किशोरीहरूलाई नै बढी शोषणमा पारिएको देखिएको छ।
स्वास्थ्य मन्त्रालयले डिम्ब कारोबारबारे पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिसकेको छ।











