हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा मकवानपुरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन आइतबार हेटौंडाका विभिन्न चेकपोस्टमा सवारी चालकहरूको मादक पदार्थ तथा लागुपदार्थ सेवन (मापसे/लापसे) परीक्षण गरिएको छ।
जिल्ला स्तरीय लागुऔषध नियन्त्रण तथा रोकथाम समिति, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सिआन पुनर्स्थापना केन्द्र, भिभ हेल्थ केयर र रिकभरिङ नेपालको समन्वयमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको हो। कार्यक्रमको शुभारम्भ शनिबार सिआन पुनर्स्थापना केन्द्र, हेटौंडा–९ बाट गरिएको थियो।
अभियानअन्तर्गत आइतबार हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्ट र हेटौंडा–१ चौकीटोलस्थित चेकपोस्टमा यात्रुवाहक सवारीसाधनका चालकहरूको लागुपदार्थ सेवन परीक्षण गरिएको सिआन पुनर्स्थापना केन्द्रका अधिकृत मनिष मान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार परीक्षणका क्रममा १० जना चालक लागुपदार्थ सेवन गरेको अवस्थामा फेला परेका छन्। तीमध्ये रातोमाटे चेकपोस्टमा ४ जना र चौकीटोल चेकपोस्टमा ६ जना चालक भेटिएका हुन्।
हेटौंडा -१ का वडा अध्यक्ष सविन न्यौपाने र हेटौंडा -१५ का वडा अध्यक्ष सुनिल मोक्तान,ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुको उपस्थितिमा चेकजाँच गरिएको थियो।
फेला परेका चालकहरूलाई आवश्यक जाँच तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको जनाइएको छ।









