हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया कान्छीमाया चेपाङ मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–७ डुम्बरे घर भएकी चेपाङलाई बिहीबार साँझ करिब ७ः२० बजे राक्सिराङ–५ बोटबारीस्थित मनहरी खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनी राक्सिराङ गाउँपालिका–३ आउलेस्थित माइतीघरबाट आफ्नो घरतर्फ जाने क्रममा खोलामा बगेकी थिइन्।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी उनको खोजी थालेको थियो।
खोजीका क्रममा शुक्रबार बिहान करिब ७ः१० बजे बगाएको स्थानबाट करिब पाँच किलोमिटर तल राक्सिराङ गाउँपालिका–५ ठाडेस्थित मनहरी खोलामा चेपाङ मृत अवस्थामा फेला परेकी हुन्।









