हेटौँडा । द्वन्द्व प्रभावित, एकल तथा सीमान्तकृत महिलालाई लक्षित गरी डिजिटल हिंसा तथा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
मानव अधिकारका लागि महिला एकल महिला समूहको आयोजनामा बिहीबार हेटौँडा–११ थानाभर्याङस्थित समूहको सहारा भवनमा कार्यक्रम आयोजना गरिएको हो।
समूहकी अध्यक्ष शारदा चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। समूहकी सचिव कल्पना सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल, समूहकी प्रदेश अधिकृत अप्सरा ढकाललगायत कार्यसमिति तथा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका एकल महिलाको सहभागिता थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सूचना प्रविधि शाखामा कार्यरत प्रहरी हवल्दार श्यामकृष्ण श्रेष्ठले सहभागीलाई डिजिटल हिंसा तथा साइबर अपराधका विषयमा सहजीकरण गरेका थिए।
तालिममा डिजिटल हिंसाको परिचय, पहिचान, रोकथाम तथा त्यसबाट बच्ने उपाय, सामाजिक सञ्जाल र डिजिटल खाताको सुरक्षा, अनलाइन ठगीबाट जोगिने उपाय, उजुरी गर्ने प्रक्रिया तथा साइबर अपराधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको थियो।
एकल महिलालाई डिजिटल प्रविधिको प्रयोगमा सुरक्षित र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष चौलागाईंले बताइन्। 









