हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका हेटौँडाका क्रिकेट खेलाडी रिजन ढकाललाई सम्मान गरिएको छ।
सोमबार हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित डिडिसी आउटलेटले एनपीएलमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै हेटौँडाको नाम राष्ट्रियस्तरमा चिनाउन सफल ढकाललाई सम्मान गरेको हो। आउटलेटका सञ्चालक फेन्चु लामाले खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
हेटौँडा उपमहानगरपालिका–२ निवासी ढकाल चितवन राइनोजबाट खेल्दै एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए। देब्रेहाते तीव्र गतिका बलर ढकालले प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर तथा समग्र प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बन्ने उपलब्धि हासिल गरेका थिए।
उत्कृष्ट प्रदर्शनसँगै ढकालले पुरस्कारस्वरूप कार, मोटरसाइकल र दुई लाख रुपैयाँ प्राप्त गरेका थिए।







