हेटौंडामा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान–प्रदान

मकवानपुर । सोमबार हेटौंडामा “स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान र प्रेम बहादुर पुलामी, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा पनि आतिथ्यका रुपमा सहभागी थिए।

अनुभव आदान–प्रदान कार्यक्रममा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा १० वटै पालिकाले आफ्ना असल अभ्यासहरू समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसपछि सहभागीहरूबीच अनुभव आदान–प्रदान र अन्तरक्रिया भएको थियो।

मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यक्रममा बोल्दै अबदेखि प्रदेश सरकारले स्थानीय तहहरूबाट सर्वपक्षीय राजनीतिक तथा सरोकारवालाबीच सहमति भएका योजनाहरूलाई बजेट व्यवस्थापन गर्ने बताएका छन्। उनले मन्त्रालय वा मन्त्री धाउने प्रवृत्तिमा अब बागमती सरकार नलाग्ने घोषणा गर्दै समन्वयकारी भूमिकाका लागि जिल्ला समन्वय समिती मकवानपुरको प्रशंसा गरे। उनले अहिलेको सरकारले जेन जेड पुस्ताको असन्तुष्टि सम्बोधन गर्दै सुसासन र गुणस्तरीय सेवा प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रमका सभाध्यक्ष ललित बहादुर घलानले जिल्लाका सबै १० पालिकाबीचको सहकार्यले आगामी दिनमा मकवानपुरलाई समुन्नत बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरू स्थानीय तहहरूलाई उन्नत बनाउन प्रेरक हुने धारणा राखे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.