नेवारपानीमा तीन सवारी ठोक्किँदा ३१ जना घाइते

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब १ः१० बजे भएको सवारी दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीकाअनुसार चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर अचानक पड्किँदा बस अनियन्त्रित भई हेटौडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो। ट्रकसमेत अनियन्त्रित भई काठमाडौँबाट बारा जाँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरी चौकी नेवारपानीबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य थालेको थियो। घाइते ३१ जनालाई हेटौडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य तथा मध्यम रहेको बताइएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक श्यामु अर्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक बच्चुराम फुँयालको कमाण्डमा गरी २५ जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न सवारीसाधनलाई सडकबाट हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.