हेटौंडा–१६ मा चाडपर्व लक्षित सुरक्षा सतर्कता अपनाउन अपिल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका  –१६ नम्बर वडा कार्यालयले चाडपर्वको अवसरमा शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। देशको पछिल्लो अस्थिर परिस्थितिलाई ध्यानमा राख्दै वडाले सार्वजनिक सूचना जारी गर्दै समाजमा शान्ति, सुव्यवस्था र आपराधिक गतिविधि नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक भएको जनाएको हो।

वडा अध्यक्ष रामकृष्ण कोइरालाद्वारा जारी सूचनामा हालैको जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। साथै, बडादशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरिएको छ।

सूचनामा स्थानीय बासिन्दा, व्यापारी, युवाहरू तथा सामाजिक संघसंस्थाहरूले चाडपर्वको बेला जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ। विशेषगरी सार्वजनिक स्थानमा मदिरा सेवन नगर्न, अनावश्यक जमघट नगर्न, र राति ८  बजेपछि व्यापारिक गतिविधि बन्द गर्न वडाले अनुरोध गरेको छ।

सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा टोलस्तरीय सुरक्षा समिति गठन गर्न, प्रहरीसँग समन्वय गरी शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन समेत सूचनामा भनिएको छ। सामाजिक विकृति, चोरी, लुटपाट तथा आपराधिक क्रियाकलापबाट टाढा रहन र सार्वजनिक शान्ति भंग नगर्न चेतावनी दिइएको छ।

वडाध्यक्ष कोइरालाले सबै नागरिक जिम्मेवार बनेमा मात्र सुरक्षित र शान्त चाडपर्व मनाउन सकिने स्पष्ट गर्दै सुरक्षा व्यवस्थामा सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.