जनयुद्धको छर्राले अझै पोलिरहेको छ लक्षमी थपलियालाई भन्छिन् — शरीर मात्र होइन, मन पनि दुख्छ

हेटौंडा। ६८ वर्षीया लक्षमी थपलिया अहिले पनि देब्रे हातमै छर्लङ्ग देखिने गोलिका छरासँगै बाँचिरहेकी छन्। जनयुद्ध सकिएको दुई दशक बितिसक्दा पनि त्यो घाउ न त उनको शरीरबाट मेटिएको छ, न त उनको मनबाट।

“कहिलेकाहीं टक्लिएको छरामा औँलाले छोएर हेर्छु,” उनी भन्छिन्, “अझै पनि त्यही रात सम्झेर झसङ हुन्छु।”

छराले पोल्ने घाउ त देखिन्छ, तर पोल्ने ती यादहरू अझ गहिरा छन्।

२०६२ साल असार ५ गतेको त्यो रात १०:३० बजेको समय लक्षमी कहिल्यै बिर्सन सक्दिनन्। त्यो दिन माओवादी लडाकुहरूको समूह घरमा छिरेको थियो — मुखमा कालो पट्टी बाँधेर। उनको छोरा सशस्त्र प्रहरीमा लागेको थाहा पाएपछि खोज्दै आएका थिए।

“छोरा घरमा थिएन। नभेटेपछि ‘निकाल्’ भन्दै झ्यालबाटै छातीमा गोली हाने,” उनी सम्झिन्छिन्।
गोली लागेर उनका श्रीमान् मीनबहादुर थपलिया त्यही ठाउँमै ढले। श्रीमानको छातीमा ठूलो प्वाल परेको थियो। उनी भन्छिन्, “म बेहोस भएछु, जब होशमा आए, मेरो टाउको उहाँको छातीमै थियो।”

मीनबहादुर थपलिया त्यतिबेला सामाजिक काममा सक्रिय थिए। गाउँका बैठकहरूमा बोलाइ-बोलाइ धम्क्याइन्थ्यो। छोरा माओवादीमा नपठाएको रिस उनीहरूमा थियो।

“उठाउनुहोस्, सुतेका छन्, भनेर बाबु बाबु भन्दै गर्दा गोली ठोके,” लक्षमी भन्छिन्। “छातीमै बर्साय।”
त्यस रात उनी पनि घाइते भइन्। देब्रे हात, टाउको, शरीरभर छर्रा लागे। टाउको च्यातिएको थियो।

“कति गोली खाइयो भन्ने नै थाहा छैन,” उनी भन्छिन्, “१५ भन्दा बढी टाँका लगाइएको थियो।”

छर्राले च्यातिएको हातमा खुट्टाको हड्डी सारेर प्रत्यारोपण गरिएको छ। शरीरका अन्य भागको छाला काटेर घाउ पुरिएको थियो। अहिले पनि त्यो भाग दुखिरहन्छ। तर छरा झिक्न सकिरहेको छैनन् — “क्यान्सर हुन सक्छ भने, डर लाग्छ,” उनी भन्छिन्।

उनका दुई छोरा र एक छोरी थिए। माओवादीको धम्कीपछि छोरा कलेज पढ्न छाडेर सशस्त्र प्रहरीमा गएका थिए। त्यसै कारणले थपलिया परिवार लक्षित भयो।
त्यस रातको गोलीकाण्डपछि छिमेकीहरूले माया थपलियालाई हेटौंडा अस्पताल पुर्‍याए। लामो समय उपचारमा बित्यो। श्रीमानको अन्त्येष्टिसम्म गर्न पाइनन्।

आजको दिनमा माया थपलिया सरकारबाट वृद्धभत्ता ८ हजार रुपैयाँ पाउँछिन्। त्यो औषधिकै लागि नपुग्ने बताउँछिन्। “नखाए सबै नशा दुख्छ,” उनी भन्छिन्।

शरीरका घाउ त पुरिन लागे तर मनका घाउ अझै रगतिइरहेका छन्।“द्वन्द्व सकियो रे, तर त्यो रात मेरो लागि हरेक दिन दोहोरिन्छ,” उनी भन्छिन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.