फोहोर व्यवस्थापनको नाममा करोडौंको चुहावट: पालिका माथि अभियन्ता महतको गम्भीर प्रश्न

हेटौंडा । सामाजिक अभियन्ता विशाल राज महतले हेटौंडा उपमहानगरपालिकामा फोहोर संकलनको नाममा भइरहेको सम्भावित अनियमितता र राजस्व चुहावटप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले आफ्नै फेसबुक स्ट्याटसमार्फत यो विषय सार्वजनिक गरेका हुन्।

उनको दाबी अनुसार, उपमहानगरपालिकामा घरधुरीबाट फोहोर संकलनका लागि मासिक रु. २०० उठाउने जिम्मा निजी कम्पनी ग्रीन एण्ड क्लिन सिटी प्रालिलाई दिइएको छ। हेटौंडामा करिब २५ हजार घरधुरीबाट यो शुल्क उठाइँदै आएको छ। यसरी कम्पनीले महिनामा ५० लाख र वार्षिक करिब ६ करोड संकलन गर्दै आएको अनुमान छ।

तर, महतका अनुसार कम्पनीले नगरपालिकालाई वार्षिक जम्मा ५ लाख रुपैयाँ मात्रै बुझाउने व्यवस्था गरिएको छ। बाँकी रकम भने ठेकेदारको गोजीमा जाँदै आएको उनले आरोप लगाएका छन्।

विभिन्न अनलाइन स्रोत र कम्पनीका सञ्चालक नवराज खतिवडाका भनाइहरू उद्धृत गर्दै महतले कम्पोस्ट मल बिक्री तथा अजैविक फोहोर पुनःप्रयोगबाट कम्पनीले वार्षिक ६० लाख भन्दा बढी आम्दानी गरिरहेको उल्लेख गरेका छन्।

यसरी हेर्दा, फोहोर संकलन र व्यवस्थापनबाट कम्पनीको वार्षिक नाफा ४ करोड ५५ लाख रुपैयाँ भन्दा बढी हुने देखिन्छ। तर नगरपालिकाले त्यो आम्दानी उपयोग गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

महतले सामाजिक सञ्जालमा जनाउँदै भनेका छन् — “मितव्ययताको नाममा उपमहानगरपालिकाले जनताको आधारभूत आवश्यकता कटौती गर्दै आएको छ।” उनले हालसालै असोज १ गतेदेखि लागू गरिएको निर्णयमा, उपमहानगरले हेटौंडा खानेपानी बोर्डमार्फत दिइँदै आएको १० हजार लिटर निशुल्क पानी सेवा बब्द गरेको कुरालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

“हेटौंडा खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख रुपैयाँ अनुदान दिने नगरपालिकाले फोहोरबाट हुने चार करोड नाफा आफैं व्यवस्थापन गरेर त्यो रकम धान्न सक्थ्यो,” महतको तर्क छ।

सामाजिक सञ्जालमार्फत महतले थप प्रश्न गरेका छन् —
“चुहावट रोक्दै आम्दानी बढाउने उपाय खोज्नुपर्नेमा, जनतालाई दिने सेवामै कटौती किन? के हेटौंडा उपमहानगरलाई आफ्नै सम्पत्ति र स्रोतको सही प्रयोग गर्ने चासो छैन?”

उनी भन्छन्, स्थानीय सरकारले करको दर अत्यधिक बढाएको कारण व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन्। तर स्थानीय स्रोतबाट उठाउन सकिने ठूलो रकम अझै निजी कम्पनीको नाफामुखी व्यवस्थापनमै सीमित छ।

सामाजिक अभियन्ता विशाल राज महतको यो स्ट्याटसले हेटौंडा उपमहानगरपालिकाको कार्यप्रणाली र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.