हेटौंडा। हेटौंडामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिसाथ छठपर्व मनाइएको छ। राप्ती नदी किनार घाटमा व्रतालुहरूले प्रसाद र पूजा सामग्रीसहित भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरेका हुन्।
गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा सम्पन्न गरिएको हो। छठी माईको आराधना गरी मनोकामना पूरा हुने विश्वासका साथ व्रतालुहरूले तीन दिनसम्म कठिन निर्जल व्रत बसेका छन्।
छठ पर्व पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्यलाभ तथा विभिन्न मनोकामना पूर्तिको कामना गर्दै मनाइने धार्मिक पर्व हो।
भोलि बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्नेछन्। उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मिथिला क्षेत्रमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्य अर्पणका क्रममा जटासहितको नरिवल, मिष्ठान्न परिकार र केरालगायतका फलफूल सूर्यदेवलाई अर्पण गर्ने चलन रहिआएको छ।










